
काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार भने झण्डै साढे २६ अंकले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर सोमबार ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक सोमबार २६.५४ विन्दुले घटेर एक हजार ३१७.११ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम झण्डै रु दुई अर्ब बराबर छ । कूल १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १५.८८, व्यापार ५४.५९, होटल ६४.०९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२, वित्त २२.३३, निर्जीवन बीमा ११६.३१, उत्पादन ७१.९१, अन्य १३.५३, लघुवित्त ५७.८८, जीवन बीमा १५४.६५ र सामूहिक लगानी कोष ०.१८ ले घटेको छ ।
नप्सेका अनुसार कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ९२ लाख ९५ हजार ९३६ मूल्य बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । मल्टीप्रपोज फाइनान्स कम्पनी ९.७७, ग्लाबेल आइएमई बैंक ९.७२, सूर्य लाइफ इन्सुरेन्स कम्पनी २.६१, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी २.५४, सिनर्जी पावर १.९२ र मञ्जुश्री फाइनान्स कम्पनीका शेयरधनीले १.८६ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनी १०, पोखरा फाइनान्स ९.८२, हिमालयन पावर पार्टनर ९.४१, विशाल बजार कम्पनी ९.२२, पञ्चकन्या माई हाइड्रोपावर ८.६५ र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८.३३ प्रतिशतले गुमाए ।