

काठमाडौं– लगानी बोर्ड नेपाल, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनी र चीनको पावर चाईना कम्पनीबीच तमोर जलाशययुक्त आयोजनाका सम्बन्धमा सम्झौता भएको छ । राजधानीको लगानी बोर्डको कार्यालयमा आइतबार सम्पन्न एक कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनीका प्रमुख कार्यकारी अधिकृत र पावर चाइनाका उपाध्यक्ष पानबीच हस्ताक्षर भएको हो ।
दुईवर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउने सहमति भएको उक्त सम्झौताअनुसार एचआइडिसिएल र पावर चाइनाले संयुक्तरूपमा डिपिआर तयार गर्ने भएका छन् । ७५६ मेगावाट क्षमताको सो आयोजनाको सर्वेक्षण अनुमति लिएको दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने सहमति भएको हो । सर्वेक्षण अनुमतिका लागि कम्तीमा छ महिना लाग्नेछ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीका अनुसार यस समझदारीले आयोजना निर्माणका लागि मार्गप्रशस्त गरेको छ । आयोजना बहुउद्देश्यीय प्रकृतिको जलाशयुक्त आयोजना हो । दुई वर्षभित्र निर्माण शुरु गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र चीनको पावर चाइनाले संयुक्तरूपमा दुई जलाशयुक्त आयोजना संयुक्तरूपमा निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त अवसरमा नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितीमा कूल ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना र १५७ मेगावाट क्षमताको माडी खोला जलाशयुक्त आयोजना निर्माण गर्ने विषयमा समझदारी भएको थियो ।
यस आयोजनाको अनुमानित लागत रु एक खर्ब ८० अर्ब जति लाग्नेछ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि मात्र आयोजनासम्बन्धी सम्पूर्ण विवरणहरू थाहा हुन्छ । आयोजनाबाट पूर्वी नेपालका पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्ला प्रभावित हुनेछन् ।