काठमाडौं- चालु अर्थिक वर्षको पहिलो त्रैमासमा रेमिट्यान्समार्फत नेपाल भित्रिने रकम करिब १७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै साउनदेखि असोजसम्म विप्रेषण (रेमिट्यान्स) आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा १६.८ प्रतिशतले बढेको देखाएको हो ।
उक्त अवधिमा कूल दुई खर्ब ८१ अर्ब पाँच करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब ४० अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । चालु आवको पहिलो महिना साउनमा ९२ अर्ब २० करोड, भदौमा ९४ अर्ब ८३ करोड र असोजमा ९४ अर्ब एक करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक छ । यो रकम विदेशमा कार्यरत नेपालीहरुले वैधानिक च्यानलमार्फत पठाएको रकम हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको तथ्यांकमा अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको उल्लेख छ । यस अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई दुई अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्यामा पनि वृद्धि भएको तथ्यांक छ । जसमा गत आवको पहिलो त्रैमासभन्दा १२३.१ प्रतिशतले वृद्धि भई एक लाख ४७ हजार ९३२ जनाले अन्तिम श्रम स्वीकेति लिएका छन् ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या बढेको छ । राष्ट्र बैंकले समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ६६.२ प्रतिशतले बढेर ५७ हजार ८६१ जना पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले बढेर तीन खर्ब १० अर्ब ४३ करोड रुपैयाँ प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको उल्लेख छ ।
वैेदेशिक रोजगारीमा जाने संख्या बढ्दै जानु र पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर भएका कारण पनि रेमिट्यान्समा वृद्धि हुन पुगेको राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ । गत जेठ महिनादेखि देशमा भित्रिने रेमिट्यान्समा क्रमशः उल्लेख्य सुधार हुँदै गएको राष्ट्र बैंकले औंल्याएको छ । पछिल्लो समय रेमिट्यान्स आप्रवाहमा वृद्धि हुनुलाई राष्ट्र बैंकले अवलम्बन गरेको मौद्रिक नीतिको प्रभावसमेत मानिएको छ ।
राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाहको दायरालाई फराकिलो पार्ने बताउँदै रेमिट्यान्ससम्बन्धी विद्यमान व्यवस्थालाई सहज बनाउन पुनरवलोकन गर्ने मौद्रिक नीति लिएको छ । राष्ट्र बैंकले लिएको नीतिअनुसार नेपाली नागरिकमात्र नभई विदेशी नागरिक र विदेशस्थित संघसंस्थाबाट समेत नेपालमा रेमिट्यान्स पठाउँदा सहज रुपमा प्राप्त गर्न सकिन्छ ।
त्यसैगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरुले विदेशी मुद्रा सटही सुविधा प्राप्त गर्न अनिवार्यरुपमा बैंक खाता हुनुपर्ने उल्लेख गरिएको छ । राष्ट्र बैंकले औपचारिक माध्यमबाट स्वदेशमा रेमिट्यान्स पठाउनेहरुलाई प्रमाणका आधारमा वैदेशिक रोजगारीबाट फर्किएपछि विभिन्न सेवा तथा सुविधा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने नीति अगाडि सारेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९ ०८:१८