

काठमाडौं — सरकारको आंशिक स्वामित्वको संस्थान साल्ट ट्रेडिङका सेयर धनीको लाभांश रोकिएको छ । अर्थ मन्त्रालयले लामो समयदेखि लाभांश बाँड्ने स्वीकृति दिएको छैन । साल्ट ट्रेडिङ कर्पाेरेसनमा सेयर स्वामित्वका विषयमा उठेको विवादमाथि छानबिन भइरहेका कारण लाभांश बाँड्न स्वीकृति दिएको छैन ।
सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई तत्कालीन समयमा दातृ निकायले दिएको वस्तुगत अनुदानलाई समेत सेयरमा परिणत गर्ने तयारी गरेको छ । साल्ट कर्पाेरेसनलाई झण्डै १७ देखि ४४ वर्षअघि विभिन्न दातृ निकायबाट प्राप्त वस्तुगत अनुदान सहयोगलाई अहिले अर्थ मन्त्रालयले सम्झौता विपरीत सेयरमा परिणत गर्ने प्रक्रिया सुरु गरेको हो । हाल कम्पनीमा सरकारको २१.२८ प्रतिशत र अन्यको ७८.७२ प्रतिशत सेयर छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा साल्ट ट्रेडिङले खुद मुनाफाको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । त्यस समयमा साल्टले ७३ करोड ९३ लाख रूपैयाँ कुल मुनाफा आर्जन गरेको थियो । संस्थानले वितरणका लागि प्रस्ताव गरेको नगद लाभांश ९८ लाख २३ हजार ४ सय ७० रूपैयाँ छ । कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा (२) अनुसार सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका कम्पनीले सरकारको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । सरकारका तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नगद लाभांश वितरणका लागि सहमति दिए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा लाभांश वितरण रोकिएको छ । २०७४ फागुन १६ गते नै साल्ट ट्रेडिङले आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै लाभांश वितरणका लागि स्वीकृति दिन माग गरेको थियो । सोहीअनुसार आपूर्ति मन्त्रालयले पुसमा अर्थ मन्त्रालयलाई स्वीकृतिका लागि पत्राचार गरेको थियो। साथै जेठ ९ मा समेत आपूर्ति मन्त्रालयले ताकेता गरेको थियो । तर, अर्थ मन्त्रालयले अहिलेसम्म लाभांश वितरण गर्ने स्वीकृति दिएको छैन ।
साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरले सरकारले स्वीकृति नदिँदा साल्ट ट्रेडिङको नगद लाभांश वितरण रोकिएको पुष्टि गरे । उनले भने, ‘सरकारकै प्रतिनिधित्व गर्ने एउटा मन्त्रालय सदस्य रहने सञ्चालक समितिले लाभांश दिने घोषणा गरिसकेको अवस्थामा अर्काे मन्त्रालयले रोकेको अवस्था छ ।
सरकारले लगानीका सवालमा ठूला कुरा गरिरहँदा, यस्तो गतिविधिबाट अरु लगानीकर्तालाई लगानी गर्ने उत्साह कसरी आउँछ ?’ सरकारले लाभांश रोकिरहँदा आफूहरू न्यायका लागि अदालत जानसक्ने चेतावनीसमेत उनले दिएका छन् ।