काठमाडौं- दशैँको बेला मुलुकभर नै पानी परिरहेको छ । मान्यजनका हातबाट टीका थाप्न जानेहरुलाई लगातारको परिरहेको पानीले ठूलो कष्ट दिएको छ ।
ग्रामीण भेगका सडकहरु बाढी पहिरोले अबरुध्द हुँदा थप सास्ती खेप्नु परेको छ । मौसमविद्हरुले पानी अझै पर्ने बताइरहँदा दशैँ मान्न गाँउ गएकाहरुलाई अब कर्मथलो फर्कन अफ्ठ्यारो स्थितिको सामना गर्नुपर्ने देखिएको छ ।
हाल नेपालमा दक्षिण,पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसले गर्दा लगातार पानी परि देशका केही स्थानमा आज धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै एवं बागमती,मधेश र प्रदेश नं १ का एक दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुने देखिएको छ ।
नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९ १०:४४