
काठमाडौं– नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘नेपाल बिल्ड टेक एक्स्पो २०२०’ आयोजना हुने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इन्डियाको संयुक्त आयोजनामा माघ ३ देखि ५ गतेसम्म भक्तपुरको सल्लाघारी मैदानमा एक्स्पो आयोजना गर्न लागिएको हो ।
महासंघको २१औँ साधारणसभाको अवसर पारेर त्यसै स्थलमा एक्स्पो आयोजना गर्न लागिएको हो । महासंघकोे इतिहासमा नै पहिलोपटक आयोजना गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको एक्स्पो निर्माण क्षेत्रमा रुचि राख्ने सबैका लागि उपयुक्त मञ्च हुने महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘निर्माण व्यवसायीलाई विश्व बजारमा आएका नयाँनयाँ निर्माण यन्त्र उपकरणबारे अवगत गराउन एक्स्पो उपयुक्त मञ्च बन्नेछ’, उनले भने ।
एक्स्पो संयोजकको जिम्मेवारी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेलाई दिइएको छ । निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित १६० भन्दा बढी प्रदर्शनी कक्ष ७० हजार वर्गफिट क्षेत्रफलको एक्स्पोमा रहने पाण्डेले बताए । तीनदिने एक्स्पो करीब पाँच हजारले अवलोकन गर्ने अनुमान गरिएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईंले जानकारी दिए । एक्स्पोको सहयोगी साझेदारका रूपमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कर्मसलगायत संस्था रहेका छन् ।
नेपाल इञ्जिनीयर्स एसोसिएशन, सोसाइटी अफ कन्सलटिङ आर्किटेक्चरल एन्ड इन्जिनीयरिङ फर्मस् (स्काफ नेपाल), नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, युथ कम्युनिटी फर नेपलिज कन्ट्र्याक्टर्स (वाइसिएनसी), सोसाइटी अफ नेपलिज आर्किटेक्चर्स (सोना), एल्मोनियम व्यवसायी संघ नेपाल, नेपाल फर्निचर संघ, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल र भारतको राजकोट हार्डवेयर म्यानुफ्याक्चर एसोसिएशन पनि एक्स्पोका सहयोगी साझेदार संस्थाका रूपमा छन् ।