काठमाडाैं - सरकारले आगामी मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेश निर्वाचनका लागि म्यादी प्रहरीको तलब झण्डै ५० हजार हुने भएकाे छ । एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएकोमा उनीहरुकाे तलब झण्डै ५० हजार हुने भएकाे हाे ।
यसअघि स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । उनीहरूका लागि कुल रु पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रकम विनियोजन भएको छ । कुल ४० दिनका लागि तलब, राशन, पोशाकलगायत सबै भत्तासहित जोडेर झण्डै रु ५० हजार हाराहारी तलब प्राप्त गर्ने जनाइएकाे छ।
यसपालि दुर्गममा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ । म्यादी प्रहरीले प्रहरी जवानसरहको सुविधा प्राप्त गर्नेछन् । सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तीमा रु ४९ हजार दुई सय ६० तलब प्राप्त गर्नेछन् । हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार नाघ्ने छ ।
म्यादी प्रहरीले तलब मात्रै रु ३४ हजार सात सय ६० प्राप्त गर्नेछन् । त्यसका अलावा रासनवापत रु सात हजार २०० पाउने छन् । तर दुर्गममा खटिनेका लागि त्यहाँको रासन बराबरकै प्राप्त गर्र्ने हुँदा केही थपिने छ । पोशाकका लागि रु छ हजार रुपैयाँ पाउने छन् । यसमा पनि हिमाली जिल्लामा खटिनेले (ज्याकेट खरिद) मा रु एक हजार थप पाउनेछन् ।
हिमाली जिल्लामा १५ हजार म्यादी प्रहरी खटिनेछ ।यस्तै आवतजावत भाडा खर्च रु एक हजार दिइनेछ । खाजा खर्च चार दिनको प्रतिदिन रु तीन सयका दरले पाउनेछन् । यो खर्च भने सबै प्रहरीले पाउनेछन् । म्यादी प्रहरीका लागि मापदण्ड तय हुँदैछ । आगामी असोजमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए।
यसैगरी मतदानस्थल, मतदान केन्द्र र मतदातासमेत थपिने भएकाले यो पटक म्यादी प्रहरीसहित झण्डै २५ हजार प्रहरी कर्मचारी थप परिचालन गर्न लागिएको छ । नेपाल प्रहरीतर्फ १० हजार र म्यादीतर्फ १५ हजार बढाउन लागिएको हो ।
समानुपातिक निर्वाचनसमेत हुने भएको र कारागारका कैदीबन्दीले समेत मताधिकार प्रयोग गर्न पाउने भएपछि म्यादी प्रहरीसँगै अन्य प्रहरी कर्मचारीसमेत थप गरिएको हो । यसपालि झण्डै पाँच लाख मतदाता थपिने अनुमान गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनः अर्को ठाउँमा मत खसाल्नुपर्ने हुन्छ । त्यसैले सुरक्षाकर्मी बढाउनुपर्ने आवश्यकता रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक राईले जानकारी दिए । यसअघि भर्ना भएका म्यादी प्रहरी, पूर्वसुरक्षाकर्मीलाई नै यसपटक पनि प्राथमिकता दिने पनि उनले जानकारी दिए ।
निर्वाचनको तयारीस्वरूप नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाको संयोजकत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ । प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ ।
अर्थ मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएर आएसँगै केन्द्रीय सुरक्षा योजना निर्माणमा गृह मन्त्रालय जुटेको छ । यसअघि गृहसचिव टेकनारायण पाण्डेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुख सदस्य रहेको केन्द्रीय निर्वाचन सुरक्षा सेल, प्रदेश मुख्य सचिवको नेतृत्वमा प्रदेश सुरक्षा समन्वय सेल तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला निर्वाचन सेल तथा कमाण्ड पोष्ट गठन गरी कार्य अघि बढाइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९ १८:२०