एजेन्सी - रूसले युक्रेनमा छ महिनादेखि जारी आक्रमणमा हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ। युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरू बीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन्।
रूसको आक्रमण सुरु भएयता युक्रेनका करिब नौ हजार सैनिक मारिएको युक्रेनका प्रमुख सैनिक कमाण्डरले जानकारी दिएका हुन् । भ्यालेरी जालुज्नीले सोमबार कीभमा आयोजित सार्वजनिक समारोहमा भने, “युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिन आवश्यक छ किनकि उनीहरूका बाबुहरू मोर्चामा गएका छन् र सम्भवतः उनीहरू मारिएका लगभग नौ हजार नायकहरूमध्ये एक हुन पनि सक्छन् ।”
बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ। जारी युद्धका बीच यही बुधवार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ।
मस्कोको सेनाले राजधानी कीभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ। छ महिनादेखि जारी रुस-युक्रेन युद्धले ऊर्जा-इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ र विश्वभर युद्धको झट्का महसुस भइरहेको छ।
यसै बीच रुसको एफएसबी सुरक्षा सेवाले सोमबार मस्कोको बाहिरी इलाकामा शनिबार भएको कार बम विष्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ। सो विष्फोटमा परी कट्टर रुसी विचारधाराका नेता अलेक्ज्याण्डर डगकी छोरी डारिया डुगिना मारिएकी छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकका परिवारप्रति समवेदना सन्देश पठाउँदै "घृणित अपराध" को निन्दा गरेका छन्।