पेरिस- हिन्दू धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीलाई कामबाट अलग गरिएको विवादपछि बन्द भएको एफिल टावर मङ्गलबार पुनः सञ्चालनमा आउने भएको छ ।
एफिल टावर सञ्चालन गर्ने कम्पनी सेटले प्रतिनिधिमण्डलले ‘महिलासँगको अन्तरक्रिया’ सीमित गर्न अनुरोध गरेको स्वीकार गर्दै त्यस्तो सर्त मान्नु नहुने जनाएको छ । कर्मचारी र व्यवस्थापनबीचको छलफलपछि टावर खोल्ने निर्णय गरिएको हो ।
बोचासानवासी अक्षर पुरुषोत्तम स्वामिनारायण संस्था (बिएपिएस) ले घटनाबाट भएको असुविधाप्रति क्षमा माग्दै प्रतिनिधिमण्डल ठूलो भएकाले अन्य आगन्तुकलाई बाधा नहोस् भनेर भ्रमणको विशेष व्यवस्था गरिएको जनाएको छ ।
तर एफिल टावरका कर्मचारीले महिला भएकै कारण आफूहरूलाई जिम्मेवारीबाट हटाउने, पुरुष कर्मचारीबाट प्रतिस्थापन गर्ने र केही क्षेत्रमा प्रवेश गर्न नदिने निर्देशन दिइएको भन्दै आपत्ति जनाएका छन् । कम्पनीले पनि यस्तो सर्त स्वीकार गर्नु आफ्नो गल्ती भएको जनाएको छ ।