काठमाडौं– वैदेशिक रोजगारअन्तर्गत कोरियामा उत्पादन र कृषि क्षेत्रमा जाने कामदारहरूका बीचमा विभेद् देखिन थालेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा उत्पादन क्षेत्रमा काम गर्नेहरूले कृषि क्षेत्रमा काम गर्नेहरूलाई अपमान गर्न थालेपछि विभेद् देखिएको हो ।
उत्पादन (म्यानुङ्खयाक्चर) क्षेत्रमा जाने कामदार मात्तिँदै र कृषि (एग्रिकल्चर) मा जाने कामदार आत्तिँदै कामदारबीच मनोवैज्ञानिक भड्खालो पैदा भएको कोरियाबाट फर्केका सोलखुम्बुका रञ्जन राईले बताएका छन् ।
उनका अनुसार कोरियामा उत्पादन क्षेत्रमा गएका कामदारले कृषिमा गएका कामदारलाई हेप्ने प्रवृति रहेको र कोरियाबाट फर्केपछि पनि घरमा आएरसमेत नराम्रा कुरा गर्ने गरेका बताए ।
यसको मुख्य कारण नेपालमा कृषि पेसालाई गरिएको उपेक्षा र किसानलाई हेर्ने दृष्टिकोण भएको उनको तर्क छ । गाउँघरमा बसेका आमाबुबामा समेत कोरियामा हुने कृषि र उत्पादनको विभेद्ले कमाउने पैसा र हेर्ने दृष्टिकोणमा ठूलो मनोवैज्ञानिक असर परेको राईले बताएका छन् ।
तर, कोरियामा उत्पादन र कृषिमा जाने कामदारमा धेरै फरक नरहेको, उत्पादनमा जाने कामदारले ओभरटाइम पाउने, कृषिमा जानेले धेरै ओभरटाइम नपाउने र मौसमअनुसार काम हुने भएकाले मासिक तलबमा फरक आउने गरेको राईले बताए । उनका अनुसार कोरियामा जाने प्रत्येक कामदारको न्यूनतम तलब सरकारले तोकेबमोजिम बराबर रहेकाले नयाँ जाने साथीहरूलाई ढुक्क भएर जान आग्रह गरेका छन् ।
उनी अहिले कोरियामा सिकेको सीपको उपभोग गर्दै काठमाडौंको गोकर्णमा आफ्नै गाईफर्म खोलेर बसेका छन् । त्यसैले यस वर्षदेखि कोरियाले उत्पादन र कृषि क्षेत्रमा बाहेकका क्षेत्रमा पनि कामदार लैजाने भएको छ । यसअघि कृषि र उत्पादनमा मात्र कामदार लैजाँदै आएको भए पनि यस वर्षदेखि माछापालन, निर्माण र अन्य क्षेत्रमा पनि कामदार लैजाने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६ ०५:४९