काठमाडाैं - नेपाली समाजमा इतिहास हेर्ने हो भने गुरुकुल र गुम्बाकुलबाट नै दीक्षित गर्ने परम्परा थियो । विकसित प्रविधि प्रयोग र आधुनिक शिक्षाको विकाससँगै आंशिक रूपमा मात्रै यस किसिमको परम्परा चलिरहेको छ ।
विशेषतः बौद्ध धर्म अन्तर्गत गुम्बाहरूले भने गुम्बाकुलबाट दीक्षित गराइरहेका छन् । यसको नियमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतमा रहेको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति पुलचोकले अनुगमन र प्रतिवेदन बुझ्ने गरिरहेको छ ।
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित गुम्बा व्यवस्थापन सम्बन्धी प्रशिक्षणमा लोबो निफुग नाम्ड्रोल गुम्बा मुस्ताङका प्रमुख लामा क्षोम्बे गुरुङले सरकारी तवरका कामकाजमा प्रक्रियागत तवरले काम गर्ने तरिकाहरू तालिममा जान्न पाएको बताएका छन् । उनी भन्छन्‚‘गुम्बाको व्यवस्थापनमा अब नयाँ तरिकाबाट चुस्त र दुरुस्त कार्य गर्न सक्ने तालिमबाट ज्ञान पाएको छ ।’
स्वयम्भूस्थित च्वाइस होटेलमा आयोजित दुई दिने तालिममा सहभागी मकवानपुरका पेमा होइसेर गुम्बाका प्रमुख लामा रुद्र रुम्बाले तालिम एकदम उपयोगी भएको बताएका छन् । ‘तालिममा सिकाइएका कुराहरू व्यवहारमा उतार्ने प्रयास गर्नेछु‚ ‘उनले भने‚ ‘सरकारी बजेटको लागि कागजपत्र मिलाउने प्रक्रिया र गुम्बाको अपडेटका लागि गर्नुपर्ने कार्यहरूको जानकारी पाएको छु ।’
यसैगरी उग्येन पेज्यूङ डुब्देलिङ गुम्बा काभ्रेका अध्यक्ष एवं संचारकर्मी जगतमान दोङले मेरो गुम्बा निर्माणाधीन अवस्थामा छन् । यसको सञ्चालन र व्यवस्थापनको बारेमा खासै ज्ञान नभएपछि प्रशिक्षणले यस सम्बन्धी खुलस्त पारिदिएको बताएका थिए ।
त्यस्तै अहिंसावादी साङ्गे छ्योइलिङ गुम्बा बाराका प्रतिनिधि निसिता पाख्रिनले तालिम सराहनीय रहेको बताउँदै सहभागीमा महिला कम देखिएको बताइन् ।
कार्यक्रमको समापनमा समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले गुम्बा शिक्षा परम्परागत नभई २१ औँ शताब्दीको बौद्ध धर्मावलम्बी बन्नुपर्ने बताएका थिए । उनले अबको गुम्बा शिक्षा आधुनिक शैलीको धारमा हुनुपर्ने बताएका छन् ।
दुई दिने गुम्बा व्यवस्थापन सम्बन्धी तालिम मङ्गलवार सम्पन्न भएको छ। सोमबार कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होम दोङले गुम्बाबाट आएका ज्ञानलाई समुदायसँग जोडिनुसँगै आ-आफ्नो गुम्बाको आन्तरिक व्यवस्थापन चुस्त र दुरुस्त गर्नुपर्ने बताएका थिए ।
तालिममा ४० जिल्लाबाट विभिन्न गुम्बाका प्रमुख लामा‚ सञ्चालक समितिहरूको सहभागी रहेका थिए ।प्रशिक्षणमा भन्ते उदयसेन (शान्त समाल), वीरसिंह घले, सूर्यबहादुर पाख्रिन, पेमाछावाङ शेर्पा, तुण्डुपपासाङ लामा, निसीता पाख्रिन, कृष्ण लोप्चन, लाक्पादोर्जे तामाङ लामा, शेर्पा लामा कर्मा, दानबहादुर तामाङ, रुद्रबहादुर रुम्बा‚ जगबहादुर तामाङ, विश्वर तामाङ, मगंलसिंह तामाङ, दीपकबहादुर गुरुङ, सूर्यमान तामाङ, विष्णुबहादुर तामाङ, देवा नुर्वु शेर्पा, सूर्यमान तामाङ, नाम्ग्यल टासी लामा, भिमसेन लामा, फूर्बा शेर्पा‚ ताक्ला लामा, तोरछी तामाङ, राजु गोले, डिलबहादुर पाख्रिन‚ आइसिङ लामा‚ जगतमान लामा (दोङ) लगायत रहेका थिए ।
प्रशिक्षकहरूमा आचार्य नुर्वु शेर्पा, लेखा अधिकृत विनीता भण्डारी, प्रशासकीय अधिकृत वन्दना कुमारी झा, योजना अधिकृत सन्जु योङ्गया रहेका थिए ।
कार्यक्रम सञ्चालन कवि लक्ष्मी रुम्बाले गरेकी हुन् ।
-file photo
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९ १८:३६