
बाँके – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकको आर्थिक समृद्धिका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । बाँकेको कोहलपुरमा शुरु भएको तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, एवं पर्यटन महोत्सवको उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टले आर्थिक समृद्धिका लागि नेपालका राजनीतिक दल, सरकार, निजी क्षेत्र सबैलाई सहकार्यका लागि आग्रह गरेका हुन् ।
‘देशमा राजनीतिक क्रान्ति सकिएर अब आर्थिक क्रान्ति गर्ने समय आएको छ’, मन्त्री भट्टले भने, ‘सरकार आर्थिक समृद्विका लागि सबैसँग सहकार्य गर्न तयार छ, सकारात्मक सोचसहित विकासमा सबै लागौँ, सरकार सबैलाई समेट्न तयार छ ।’
मन्त्री भट्टले बाँकेको नौवस्ता औद्योगिक क्षेत्रलाई सरकारले पहिलो प्राथमिकता दिएको जानकारी दिँदै स्थानीयस्तरमा उत्पादित वस्तु, नयाँ तरिकाको कृषि व्यवसाय अबको प्राथमिकता रहेको उल्लेख गरे ।
सरकार औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा अघि बढेको उल्लेख गर्दै मन्त्री भट्टले देशभर रहेका प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजान ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति र महिला उद्यमी समितिको मुख्य आयोजनामा शुरु भएको महोत्सवमा सांसद महेश्वरजंग गहतराजले बाँकेको कोहलपुरलाई अन्तर्रा्ष्ट्रिय व्यापारिक केन्द्रविन्दुका रूपमा विकास गर्नुपर्ने बताए ।
उक्त अवसरमा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले महोत्सवले स्थानीयस्तरबाटै उत्पादित भएको वस्तुलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले महासंघले सबै प्रदेशमा महोत्सव गर्ने जानकारी दिँदै लघु उद्यमीले उत्पादन गरेका वस्तु महोत्सवमा प्रदर्शन गरी आङ्खनो लक्ष्य पूरा गर्नेे बताए ।