काठमाडौं- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाहको दायरालाई फराकिलो पार्ने गरी मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन विभिन्न सुविधा प्रदान गर्ने विषय समेटेको हो ।
वैधानिकरुपमा रेमिट्यान्स पठाउन प्रोत्साहित गर्न रेमिट्यान्ससम्बन्धी विद्यमान व्यवस्थालाई पुनरवलोकन गर्ने जनाइएको छ । राष्ट्र बैंकले लिएको नीतिअनुसार नेपाली नागरिक मात्र नभई विदेशी नागरिक र विदेशस्थित संघसंस्थाबाटसमेत नेपालमा रेमिट्यान्स पठाउँदा सहजरुपमा प्राप्त गर्न सकिने छ । त्यसैगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरुले विदेशी मुद्रा सटही सुविधा प्राप्त गर्न अनिवार्यरुपमा बैंक खाता हुनुपर्ने उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले औपचारिक माध्यमबाट स्वदेशमा रेमिट्यान्स पठाउनेहरुलाई प्रमाणका आधारमा वैदेशिक रोजगारीबाट फर्किएपछि विभिन्न सेवा तथा सुविधा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने जनाएको छ ।
त्यस्तै मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकिङ भुक्तानी उपकरणमा विद्यमान विभिन्न विद्युतीय तथा डिजिटल कार्डबाहकले विदेशी बैंकबाट जारी यस्तै कार्डबाट नेपाली बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्डमा (कार्ड टु कार्ड) रेमिट्यान्स प्राप्त गर्न सक्नेगरी आवश्यक नीतिगत व्यवस्था गर्ने उल्लेख गरेको छ ।
रेमिट्यान्स आप्रवाह १२.६ प्रतिशतले वृद्धि
राष्ट्र बैंकले मुलुकमा भित्रिने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०७८÷७९ को नौ महिनासम्म गिरावट आएको रेमिट्यान्स आप्रवाहमा दशौं र एघारौं महिनामा क्रमशः वृद्धि भएको बताए ।
मौद्रिक नीतिमा उल्लेख भएअनुसार दशौं महिनामा ०.२ प्रतिशतले वृद्धि भएको रेमिट्यान्स आप्रवाह एघारौं महिनामा ३.८ प्रतिशतले वृद्धि भएको छ । गत आवको ११ महिनामा ९०४ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैकले जनाएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा १२.६ प्रतिशतले बढी हो ।
अमेरिकी डलरमा आर्थिक वर्ष २०७८÷७९ को ११ महिनाभित्र ७.५१ अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७.३९ अर्ब डलर मात्र भित्रिएको थियो । पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्रा अवमूल्यन भइरहेका कारण पनि रेमिट्यान्समा केही प्रभाव परेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ ०८:४४