काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि अघि बढ्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बाल्दैँ उनले तत्काल काम अघि बढ्ने बताए। हालसम्म भएका छलफल र कार्यप्रगति सुनेपछि मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि आवश्यक जग्गा दिन नेपाली सेना तयार भएको भन्दै काम अघि बढ्ने बताए ।उनले भने, “यस विमानस्थल विस्तारका लागि मन्त्रालयले उच्च महत्व दिएको छ ।”
विमानस्थलको धावनमार्ग विस्तारका लागि ३०० मिटर जग्गा आवश्यक पर्छ । यस विषयमा प्रधान सेनापतिसँग सकारात्मक छलफल भएको बताए। उनले भने, “जमिनको कारणले काम रोकिन्न ।” चितवनका लागि मात्रै नभएर देशकै लागि यो विमानस्थल महत्वपूर्ण भएको भन्दैँ नागरिक उड्डयन प्राधिकरणको बजेटबाट काम अघि बढ्ने बताए ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणकै बजेटबाट विस्तृत अध्ययन प्रतिवेदनको काम तत्काल थाल्ने बताए। गर्मीको मौसममा जहाजले पूर्ण क्षमतामा उडान भर्न नसकेको भन्दै उनले विसं २०८० सम्ममा ठूला जहाज रातिसमेत उडान गर्नसक्ने गरी विमानस्थल विस्तार गरिने बताए। रातिको समयमा काठमाडौँ बाहिरका विमानस्थलमा २० वटा जहाज बस्ने गरेको भन्दै उनले राजधानी नजिक भएर पनि हवाई सुविधामा पछाडि परेको बताए। उनले भने, “अब हामी ढिलो गर्दैनौँ, तत्काल काम थाल्छौँ ।”
महानगर प्रमुख रेनु दाहालले पहिलोपटक आफू प्रमुख भएपछि निरन्तररूपमा विमानस्थल विस्तारमा लागिरहेको बताए ।उनले भने , “अब हामी विमानस्थल विस्तारका लागि छलफलमा बस्नुपर्दैन भन्ने मलाई लागेको छ ।” यो विमानस्थल प्रदेशकै महत्वपूर्ण विमानस्थल बन्ने उनले बताए। आवश्यक सहजीकरणका लागि महानगर जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको भन्दै तत्काल विस्तारका लागि आग्रह गरे।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ १७:३४