कैलाली- सेती नदीले बझाङको जयपृथ्वी राजमार्गमा क्षति पुर्याएको छ । जिल्लाको छतिसपाथिभेरा गाउँपालिका स्थित जालेबगरमा नदीले सडकमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिए ।
अहिले साना सवारी आवतजावत भइरहे पनि ठुला सवारी भने ठप्प छन् । पानीको बहावलाई हेर्दा उक्त सडक अझै कटान हुने अनुमान गरिएको छ । गत असोज ३१ गते देखि कार्तिक ३ गते सम्म परेको अविरल वर्षा सँगै आएको बाढीले करिब ४ सय मिटर सडकमा क्षति पुर्याएको थियो ।
उक्त सडक खण्ड पुनः निर्माणको काम भइरहेको थियो । सडक मर्मत पुरा हुन नपाउँदै बाढीले क्षति पुर्याएको हो । सडक बगाउँदा धनगढी,काठमाडौँ,लगायत बाहिर जिल्ला जाने र जिल्ला भित्रने यातायातका साधनहरू वारिपारि रोकिएका छन् । अन्य ठाउँमा पनि सानातिना पहिरो गइरहेको र ती पहिलो हटाउने काम भइरहेको प्रहरी प्रमुख बिष्टले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकाको नङतड, बैतडीको पाटन नगरपालिकाको थुम, सुनर्या गाउँपालिका–१ को भन्ज्याङ भन्ने ठाउँमा मुख्य राजमार्गमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।