काठमाडाैं - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।
मंगलबार राति परेको वर्षाका कारण बुधबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।
सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।
पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उनले बताए । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ ०७:५८