ताप्लेजुङ - ताप्लेजुङमा अवस्थित प्रसिद्व तीर्थस्थल पाथीभरा जाने पदर्मागमा विभिन्न पूर्वाधारका काम विस्तार गरिदै लगिएको छ ।
हिमपातको समयमा हिउँले पुरिएर बाटो भुलिने र हिउँमा चिप्लिने जस्ता हैरानी खेप्नुपर्ने बाध्यता भएकाले पदर्मागमा फाइवरको ट्रस हालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।
उक्त पदमार्गमा गत साता ९४ मिटर ट्रस लगाउने कार्य सम्पन्न भएको छ । सरकारबाट प्राप्त ३० लाख बजेटले समितिले सो ट्रस लगाएको हो । उक्त पदमार्गमा प्रत्येक वर्ष क्रमिकरूपमा मर्मत गर्ने, सोलिङ, रेलिङ र ट्रस लगाउँने कार्य हुँदै आएको छ ।
अहिलेसम्म मन्दिरदेखि करिब ६०० मिटर ट्रस लगाएको कार्यकारी निर्देश काफ्लेले बताए । उनले भने, ‘यसपटक ट्रस लगाउने काम ठूलो घण्टी भन्ने ठाउँसम्म विस्तार गरिएको छ । हिमपातको बेला अधिक चिप्लो हुने त्यस भन्दा तलको भागमा रेलिङ हालिएको छ ।’
कार्यकारी निर्देशकका अनुसार बाटोमा सार्वजनिक धारा निर्माण गरिएको छ । छिट्टै पम्पिङ गरेर धारामा पानी झारिने छ । बाटोमा शौचालय थपिएको छ । पानीको आपूर्तिसँगै शौचालयको सफाइ सहज बन्ने छ ।
कान्छिथान नजिक शान्त स्थानमा ध्यान केन्द्रसमेत निर्माण गरिएको छ । मन्दिरदेखि क्रमिकरूपमा साढे दुई किलोमिटर माथिल्लो फेदीसम्म ट्रस लगाउने समितिको लक्ष्य छ ।कार्यकारी निर्देशक काफ्लेले समितिसँगको समन्वयमा उकालो बाटो सुधार गरी सहज बनाइएको बताए ।
‘ग्रामीण बस्तीबाट पाथीभरा आउने पैदल मार्ग विकास गरिएको छ । पाथीभरामा एक उद्धार केन्द्र, चिया खाने ठाउँ, आराम स्थल र शौचालयको लागि प्रिफ्याब घर निर्माण थालिएको छ’, उनले भने ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९ १५:१२