बैतडी - पहिलो पटक जिल्ला अस्पताल बैतडीमा ९ जना चिकित्सक उपलब्ध भएका छन् ।
दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित ९ चिकित्सकले सेवा दिन थालेका हुन् ।
अस्पतालमा २ जना विशेषज्ञसहित ९ चिकित्सकले सेवा दिइरहेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । उनीहरू छात्रवृत्ति र करार सेवाका रहेको जनाइएको छ ।
अस्पताल स्थापना भएदेखि पहिलो पटक दुई विशेषज्ञसहित ९ चिकित्सकले अस्पतालमा सेवा दिन थालेका हुन् । जिल्ला अस्पतालमा अन्य दरबन्दीका स्वास्थ्यकर्मीको पनि अभाव नरहेको सूचना अधिकारी पन्तले बताए ।
अस्पतालमा अहिले एक एमडीजिपी चिकित्सक छन् भने अस्पताल प्रमुख डा।दिपेश श्रेष्ठ एनेस्थेसियोलोजिस्ट हुन् । अस्पतालमा गर्भवतीको शल्यक्रिया गरेर प्रसूति गराउने व्यवस्था रहिआएको छ भने अन्य शल्यक्रिया सेवा पनि थप गरिने अस्पताल प्रमुख डा।श्रेष्ठले जानकारी दिए ।
अहिले सामान्य अवस्थाका बिरामीले धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ । यसबीच जिल्ला अस्पतालमा थाइराइड जाँच सेवा पुनः सुरुआत भएको छ ।
मेसिन बिग्रेर बन्द रहेको थाइराइड जाँच सेवा मेसिन मर्मतपछि सेवा सञ्चालन भएको अस्पतालले जनाएको छ । थाइराइड जाँचका लागि ३०० देखि ७०० सम्म खर्च हुने बताइएको छ ।
शरीरमा थाइराइड कम भएमा तौल बढ्ने, थकाइ लाग्ने, जाडो हुने, महिलाको महिनावारी अनियमित हुनेलगायतका लक्षण देखापर्ने चिकित्सकले जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९ १२:४९