काठमाडौं - ६० औं इन्जिनियर दिवस आज मनाइँदै छ । दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दैछ ।
एसोसिएसनले हरेक वर्ष साउन ३ गतेलाई ‘इन्जिनियर दिवस’को रूपमा मनाउँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने समारोहमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्याउने इन्जिनियर र संस्थाहरुलाई सम्मान समेत गरिने जनाइएकाे छ ।
एसोसिएसनका केन्द्रीय सदस्य अनुपम पराजुलीका अनुसार कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, इन्टरप्रेनरसिप अवार्ड, शहीद नवराज विष्ट मेमोरियल अवार्ड, युथ प्रोफेसनल अवार्ड, महिला इन्जिनियर अवार्ड, इन्जिनियरर्स एपि्रसियसन अवार्ड र बेस्ट इन्नोभेसन अवार्ड वितरण गरिने छ ।
आयाेजकका अनुसार फोहोरको दीर्घकालीन व्यवस्थापन र स्थानीय सरकारमा सूचना प्रविधिको प्रयोग सम्बन्धी विषयमा आज दिउँसो २ बजेपछि छलफल हुने छ । दिवसको मूल समारोहको पूर्वसन्ध्यामा एसोसिएसनले रक्तदान, वृक्षरोपण, सरसफाइ, खेलकुद लगायतका कार्यक्रम पनि आयोजना गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९ ०८:५७