काठमाडौं- नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् ।
उनले सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका हुन् ।
सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले राजीनामा दिएका हुन् ।
पोखरेलले दायर गरेको रिट सर्वोच्चले असार ३१ मा खारेज गरेको थियो । यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।
वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
मुद्दा हारेपछि सिंहलाई आईजीपी स्वीकारेर काममा फर्किने या त राजीनामा दिने भन्ने दुई विकल्प उनीमाथि रहेको थियो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनको राजीनामा सोमबारदेखि लागु हुने बताइएको छ ।