बाग्लुङ- बाग्लुङको पहिचानकारूपमा रहेका नौमती बाजा पछिल्लो समय लोप हुने अवस्थामा छन् । नौमती बाजा लोप हुन थालेपछि यहाँका स्थानीय सरकार नौमती बाजा संरक्षणमा जुटेका हुन् ।
पुस्ता हस्तान्तरण अभाव, नौमती बाजाप्रति युवाले चासो नदिँदा र युवा विदेश पलायन भएका कारण बाग्लुङमा नौमती बाजा लोप हुने खतरा बढेपछि केही स्थानीय तहले वडा तहमा नौमती बाजा संरक्षण थालेका छन् ।
उनीहरूले नौमती बाजा बजाउने दलित समुदायका स्थानीयलाई प्रोत्साहनस्वरूप नौमती बाजा दिने अभियान चलाएका छन् । बाग्लुङ नगरपालिका-७ को वडा कार्यालयले तीन वर्षअघि नै स्थानीय नौमती बाजा समूहलाई बाजा सहयोग गरेको थियो ।
त्यसलगत्तै काठेखोला गाउँपालिकाले दुई वर्षअघि नौमती बाजा संरक्षणका लागि पालिकाको प्रमुख नीति तथा कार्यक्रम बनायो । नौमती बाजा समूह विवाह, व्रतबन्धका साथै सुखद् कार्यक्रममा शुभकार्यका लागि बाजा बजाउने प्रचलन छ ।
काठेखोला गाउँपालिकाले ८ वटै वडामा एकरएक नौमती बाजा समूहलाई बाजा उपलब्ध गराएको थियो भने जिल्लाको ढोरपाटन नगरपालिकाले समेत नौमती बाजाको संरक्षणका लागि नौमती बाजा समूहलाई बाजा वितरण गरिसकेको छ ।
काठेखोला गाउँपालिकाका ८ वटै दलित समुदयाका बाजा समूहलाई बाजा सेट प्रदान गर्न गाउँपालिको १० लाख बजेट विनियोजन गरेर कार्यान्वयन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले जानकारी दिए ।
स्थानीय पालिकाले हराउन थालेको नौमती बाजा संरक्षणमा चासो देखाएपछि बाजा बजाएर जीविका चलाउँदै आएका दलित समुदायका कलाकारलाई हौसला मिलेको थियो । काठेखोलाको सिको अन्य पालिकाका वडाले समेत गर्न थालेका छन् ।
सरकारले नौमती बाजा बजाउनेलाई प्रोत्साहनका लागि बाजाका उपकरण सहयोग गरेपछि नयाँ बाजा खरिद गर्नै नसक्ने युवालाई समेत राहत पुगेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा बाग्लुङको गलकोट नगरपालिका-७ मल्मले नौमती बाजा संरक्षणका लागि बाजा समूहलाई नौमती उपलब्ध गराउने गरी बजेट विनियोजन गरेर कार्यान्वयन गरेको छ ।
मल्म वडा कार्यालयको २ लाख र स्थानीय बाजा समूहको ४५ हजार साझेदारीमा बाजा समूहलाई एकरएक थान नयाँ नौमती बाजा उपलब्ध गराइएको वडाध्यक्ष राजबहादुर थापाले जानकारी दिए ।
‘नौमती बाजा जिल्लाको पहिचान नै बन्न थालेको छ, तर उहाँहरूलाई नजिकको सरकारले हौसला दिनु पर्दछ, पुस्ता हस्तान्तरण अभावमा लोप हुन थालेको बाजा संरक्षणमा हाम्रो वडाले नौमती बाजा खरिद गरेर नौमती बाजा समूहलाई हस्तान्तरण गरेका छौं’, थापाले भने ।
‘यसअघि जिल्लाका अन्य पालिकाका वडाले समेत नौमती बाजा वितरण गरेका थिए, राम्रो कामको अनुसरण गरेका हौं, थोरै बजेटमा धेरै सकारात्मक कामसमेत गर्न सकिन्छ, अहिले हाम्रो वडाको नौमती बाजा समूह उत्साहित बनेको छ ।’
निर्वतमान वडाध्यक्ष टीकाबहादुर थापाले नौमती बाजा संरक्षणका लागि वडामा रहेको नौमती बाजा समूहलाई बाजा खरिद गर्ने गरी बजेट व्यवस्थापन गरेको थियो । बाजा निर्माणको चाजोपाँजो भने चर्चित संगीतकार आशिष अविरलले गरेका थिए ।
गलकोट लोकसंस्कृतिको थलो बन्दै गइरहेका सन्दर्भमा आगामी दिनमा नौमती बाजा तालिम केन्द्रसमेत स्थापना गर्ने उद्देश्यअनुरूप अहिले नौमती बाजा वितरण गरिएको निवर्तमान वडाध्यक्ष थापाले बताए ।
गलकोट-७ मल्मको सिरवारे नमूना टोलविकास संस्थाअन्तर्गत रहेको पञ्चेबाजा व्यवस्थापन समितिलाई नयाँ बाजाका सामग्री सहयोग गरिएको हो । परम्पराकालदेखि सिरवारे गाउँको बाक्लो दलित बस्तीमा नौमती बाजा पहिचानकारूपमा स्थापित छ ।
पछिल्लो समय स्थानीयमा पुस्ता हस्तान्तरण नहुँदा र युवा पलायनले निराश बनेका दलित समुदायका बाद्यबाधक तथा कलाकार नयाँ बाजा सामग्री पाएपछि हर्षित भएको नौमती बाजा व्यवस्थापन समितिका कलाकार राजकुमार दर्जीले बताए ।
नौमती बाजा वडा कार्यालयको समन्वयमा परम्परागत शैलीमै काठमाडौंमा तयार गरिएको थियो । नौमती बाजा बजाएरै यहाँका दलित कलाकारले आफ्नो गुजारासमेत चलाउँदै आएका छन् ।
गलकोटमा नौमती बाजाको तालिम केन्द्र बनाउने गलकोट नगरपालिकाले योजनासमेत अघि सारेको वडाध्यक्ष राजबहादुर थापाले बताए । विवाह तथा उत्सवमा बजाइने नौमती बाजा अन्य जिल्लाको तुलनामा बाग्लुङमा बढी प्रचलित छ ।
बाग्लुङको गलकोट तथा सिगानाको नौमती बाजा त ब्राण्ड नै बनेको छ । गलकोट र सिगानाको नौमती बाजा जिल्लामै मात्र नभएर पोखरासम्म माग हुँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ १५:५५