दार्चुला - अपि हिमाल गाउँपालिका– २ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउँदै आएका छन् ।
उनले वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगमा गएर यार्सागुम्बा टिपेर वर्षभरिलाई खर्च जुटाउछन् । सामान्य पढाइ गरेका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउछन् ।
उनको घरमा दुई बूढाबूढी छन् र आयस्रोतकारूपमा यार्सागुम्बा मात्रै हो । खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उनको भनाइ छ ।
‘एक महिना यार्सागुम्बा गरेर झण्डै ४ लाख कमाइ भयो’, उनले भने, ‘जंगलमै वर्षभरिको कमाइ हुन्छ भने मजदुरी गर्न भारत किन जानुपर्यो, त्योबाहेक सानातिना काम गाउँका योजनामा गरिन्छ ।’
यार्सागुम्बाकै कारण पछिल्लो समय भारतमा मजदुरी गर्न जाने कोही हुँदैनन् । यार्सागुम्बाको समयमा महिला, पुरुष, स्कुले बालबालिका यार्सागुम्बा संकलन गर्न लेकतिर जाने गर्छन् ।
दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा संकलनमा समेत असर पर्यो । यस वर्ष यार्सागुम्बा वैशाखमै संकलन भयो । संकलन गरेकाहरूले अहिले यार्सागुम्बा बिक्री गरिसकेका छन् ।
अपिहिमाल–१ का ललित जाग्रीले भने, ‘एक महिना मेहनत गर्यो भने वर्षभरि खान लगाउन पुगिहाल्छ, भारतमा मजदुरी गर्न वा बाह्यमूलक किन जानुपर्यो? यार्सागुम्बा मात्र नभई सतुवा, वन लसुनलगायतका थुप्रै जडीबुटी यो क्षेत्रमा पाइन्छन् ।’
यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँगाउँमा व्यापारी पुगेका छन् । व्यापारी आफैं घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन् । यस वर्ष व्यापारीले प्रतितोला १५ हजारदेखि १८ हजार हालेर यार्सागुम्बा खरिद गरेका छन् ।
विगतको भन्दा स्थानीयले यस पटक यार्सागुम्बाको मूल्य राम्रो पाएका छन् । यार्सागुम्बा खरिद गर्न व्यापारीको प्रतिस्पर्धा नै चल्छ । स्थानीय धनसिंह जाग्रीले जिल्लाभरिबाट अहिले यार्सागुम्बा संकलनको काम भइरहेको बताए ।
जिल्लाबाट सबैभन्दा बढी यार्सागुम्बाको व्यापार गर्दै आएका जाग्री यस पटक व्यापारी पनि विगतको तुलनामा गाउँमा बढी पुगेको बताउछन् । अपि नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ ।
दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो । एकदेखि डेढ महिना अपि हिमाल गाउँपालिकाको सातगङ्गा, चाइमेटला, लोलु, रोखापु, धरमघर र काटै तथा व्यास गाउँपालिकाको अपि फेद, दूधीवनलगायतका वनमा यार्सागुम्बा संकलन भएको हो ।
जिल्लाबाट यस वर्ष असारसम्म ७२२ किलोग्राम यार्सागुम्बाको छोडपूर्जी जारी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बाको छोडपुर्जीबाट प्रतिकिलो ३० हजारका दरले कूल २ करोड १६ लाख ६० हजार राजस्व संकलन गरेको अपि नाम्पा संरक्षण क्षेत्रका सूचना अधिकारी इन्द्रसिंह नगारीले जानकारी दिए ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा बढी यार्सागुम्बाबाटै राजस्व संकलन गर्ने गरेको छ । दुई वर्ष कोरोना भाइरसको महामारीका कारण यार्सागुम्बा संकलन र निकासी घटेको थियो ।
यार्सागुम्बा संकलन र निकासी घट्दा राजस्व पनि घट्दै गएको कार्यालयको यस वर्ष राजस्वदर अझै बढ्ने अनुमान गरिएको छ ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ६६९ किलो, २०७४र/७५ मा ७६४ किलो, २०७५/७६ मा ५४५ किलो, २०७६/७७ मा ३२७ किलो र २०७७/७८ मा ३०५ किलोग्राम यार्सागुम्बा जिल्लाबाट निकासी भएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ १४:१४