
धनगढी– नवजीवन सरकारी संस्थाले चालु आर्थिक वर्षको कात्र्तिक मसान्तमा रु ३ अर्व १३ करोड ५६ लाख ६२ हजार निक्षेप संकलन गरेको छ । कर्जा लगानी भने रु २ अर्व ८७ करोड ५४ लाख ६१ हजार रहेको संस्थाका अध्यक्ष चक्र बहादुर सिंहले बताए ।
अध्यक्ष सिंहका अनुसार धनगढीमा रहेका बैंकभन्दा नवजिवन सरकारी संस्थाले बढी निक्षेप संकलन गरेको छ भने कर्जा लगानी पनि बढी नै गरेको उनले बताए । संस्थाले चालु आर्थिक बर्षको हालसम्म १ करोड ५७ लाख २७ हजार रूपैयाँ मुनाफा पनि आर्जन गरेको छ भने गत आर्थिक वर्षमा १३ करोड १८ लाख ६३ हजार रूपैयाँ मुनाफा गरेको उनले जानकारी दिए ।
देशकै अग्रणी र ठूलो सहकारी संस्थाको रूपमा रहेको नवजीवन सहकारी संस्थाको ७ वटा शाखा र सेवाकेन्द्र कैलाली, कञ्चनपुर र बर्दिया जिल्लालाई कार्य क्षेत्र बनाएको थियो । चालु आर्थिक वर्षभित्र कैलाली जिल्लाको राजपुर, चौमाला, हसुलिया, डडेलधुरा जिल्लाको खलंगा र काठमाडौं नयाँ बानेश्वरमा सेवाकेन्द्र सञ्चालन गर्नका लागी सहकारी विभाग काठमाडौंबाट स्वीकृती भएको अध्यक्ष सिंहले बताए । संस्थाका शेयर सदस्य १९ हजार ९सय ३९ जना पुगेको पनि उनले बताए ।
सुदूरपश्चिमको पहिलो यस सहकारीले व्यापार, कृषि, उद्योगमा प्राथमिकताका साथ लगानी गरेको छ । १० लाख ४० हजार रूपैयाँ शेयर पुँजीबाट सञ्चालन भएको संस्थाले सेयर पुँजी २६ वर्षमा १८ करोड २० लाख ४२ हजार रूपैयाँ पुगेको छ । संस्थाले वार्षिक ४० करोड रूपैयाँ भन्दा बढि आम्दानी हुने गरेको यस संस्थाले मध्यमस्तर करदाता कार्यालयबाट राजस्व दाखिला गर्ने जानकारी पनि दिइएको छ ।