काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसदमा नागरिकता विधेयक पेस गरेको बताए ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाली नागरिक नागरिकता पाउने अवस्थाबाट वञ्चित नहुने र गैरनेपाली नागरिकले नागरिकता नपाओस् भन्ने अवधारणाका साथ विधेयक पेस भएको जानकारी दिए ।
उनले भने, ‘कुनै पनि गैरनेपालीले नागरिकता नपाओस्, नेपाली नागरिकले नागरिकता पाउनबाट वञ्चित नहोस् । नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने पर्दछ, यो संविधानको मूल अवधारणा हो । कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गरिँदैन भन्ने संविधानको भावना छ । सोही अवधारणाका आधारमा विधेयक अगाडि बढाइएको छ ।’
संविधानमा रहेको नागरिकतासम्बन्धी प्रावधानको आधारमा रहेर तथा संविधानका आधरभूत प्रावधानलाई ध्यानमा राखेर विधेयक बनाइएको उनले बताए । लामो समयदेखि नागरिकताविहीन भएर जीवनयापन, व्यवसाय सञ्चालन, अध्ययन तथा यात्रामा असुविधा व्यहोर्दै आएका नेपालीलाई छिटो नागरिकता दिने उद्देश्यले सरकारले विधेयक प्रस्तुत गरेको गृहमन्त्री खाणले जानकारी दिए ।
उनले भने, ‘सबै सांसदको सक्रिय सहभागिता, रचनात्मक सहयोग र सकारात्मक भावनाले विधेयक पास भएर कार्यान्वयनमा जानेछ । कार्यान्वनका क्रममा आएका समस्यालाई फेरि सम्बोधन गर्दै लगिनेछ ।’
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ १५:४५