झापा - सुपारी उत्पादन र बजारीकरणमा सहज तुल्याउन प्रोत्साहनका लागि ५० प्रतिशत अनुदान किसानलाई दिइएकाे बताइएकाे छ ।
परियोजनाले चालु आर्थिक वर्ष २०७८/७९ मा सुपारी किसानलाई उत्पादन र बजारीकरणमा सहज तुल्याउने उद्देश्यले प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानमा सहकारी र व्यक्तिले सञ्चालन गरेको उद्योगमा लगानी गरेको कार्यालय प्रमुख रवीन्द्र सुवेदीले बताएका हुन् ।
चालु आवमा सुपारी जोनअन्तर्गत दुई सुपारी प्रशोधन उद्योग र दुई सुपारीको पातबाट दुनाटपरी बनाउने उद्योगलाई ५० प्रतिशत अनुदान रहने गरी रु ८० लाख अनुदान उपलब्ध गराइएको उनले जानकारी दिए ।
झापामा २०७५ साउनदेखि सञ्चालनमा आएको सुपारी जोन कार्यक्रमपछि किसान उत्साहित छन् । जोनमा समावेश गरिएको सुपारी बालीमा पूर्वाधार विकास, व्यवसायीकरण एवं प्रशोधनतर्फ केन्द्रित रहेर परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सरकारले प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ लाई समेट्ने गरी ७८८ हेक्टर जमिनमा सुपारी जोन कार्यक्रम सञ्चालन गरेको सुवेदी बताए ।
विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका किसानहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार सुपारी जोन क्षेत्रका कृषकले आम्दानी बढाउन सकिने कदम चाल्न आग्रह गरेका छन् ।
विगत ३० वर्षदेखि सुपारी खेती गर्दै आएका मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका केदार रिजाल सुपारी प्रशोधन उद्योग सञ्चालनमा आएसँगै खुसी भएका छन् । उनले परियोजनाको रु २० लाख तथा आफ्नो रु २० लाख लगानीमा सुपारी प्रशोधन उद्योग स्थापना गरेका छन् । परियोजनाले सुपारीको बोक्रा छोडाउने मेसिन, प्याकेजिङ, कटिङ मेसिन खरिद र गोदाम घर निर्माणका लागि अनुदान उपलब्ध गराएको छ । आफूले मात्र होइन स्थानीयले उत्पादन गरेको सुपारी खरिद गरी प्रशोधन गरेर बजीकरण गर्ने गरेको रिजालले बताए । “यो अनुदानले राहत मिलेको छ”, उनले भने ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ ०८:१९