काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।
संसदमा विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरे । ‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, उनले भने, ‘छानबिनका लागि मैले माार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’
बजेट निर्माणका आफूले कुनै गल्ती नगरेको उनको दाबी छ । विगतमा अर्थमन्त्रीमाथि प्रश्न उठेर छानबिन हुँदा राजीनामा नदिएको भन्दै शर्माले अघि भने, मैले गल्ती गरेको छैन, तपाईंहरुको आवाजलाई सम्मान गर्दै राजीनामा दिएको छु ।’
सम्बोधनका क्रममा शर्माले बजेट निर्माणमा कुनै त्रुटि नभएको जिकिर गरेका थिए । तोकिएका अधिकारिक व्यक्तिहरुमार्फत बजेट निर्माण गरेको भन्दै उनले भने, ‘करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई सचिव र डिजीहरुलाई नितिगत निर्देशन गरेको हुँ ।’ राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको भन्दै उनले छानबिन गर्न चुनौती दिए ।