काठमाडाैं - राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ६५ वर्षे यात्रा सुरु गरेको छ । ६४ वर्षकाे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर नेपाल एयरलाइन्सले ६५ वर्षे यात्रा सुरु गरेको हो ।
सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी सेवा दिइरहेको छ ।
हाल अन्तराष्ट्रियतर्फ निगमले भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटस्को दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ ।
निगमले दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारोबडी ए३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ । निगमले विगत बर्षमा औपचारिक समारोह आयोजना गरेर वार्षिकोत्सव मनाउँदै आएकामा यस पटक सामान्य कार्यक्रम मात्र गर्न लागेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।
निगमको ऋण दायित्व करिब ४७ अर्ब रुपियाँ पुगेको बताइन्छ । वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो ।
अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रवद्र्धनले उकासिएको बताइन्छ ।स्थापनाको ६४ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सा गुमाउँदै जाँदा भने चिन्ता बढेको देखिन्छ ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९ १२:०६