
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालको ग्रामीण विद्युतीकरणमा सहयोग पु¥याउन कतारलाई आग्रह गरेका छन् । मन्त्री पुनसँग मंगलबार भेट गरेको कतार फण्ड फर डेभलपमेण्टको प्रतिनिधिमण्डलसँग उक्त आग्रह गरेको हो । उक्त अवसरमा नेपालको ऊर्जा, सौर्य ऊर्जा र जलविद्युत्को क्षेत्रमा लगानीको सम्भावना र दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाई“ले जानकारी दिए ।
मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । उनले सरकारले ऊर्जा क्षेत्रमा उदार नीति लिएको र वैदेशिक लगानीको क्षेत्रमा समेत शतप्रतिशत प्रत्यक्ष लगानी गर्नसक्ने प्रावधान रहेको भन्दै नेपालमा लगानीका लागि कतार सरकारलाई आग्रह गरे ।
‘सरकारले जलविद्युतमा उदार नीति अवलम्बन गरेको छ, पहिलो १० वर्षमा ८० प्रतिशत आयकर छुट र दोस्रो वर्ष ५० प्रतिशत छुट दिने नीति हामीले लिएका छौ“, नेपालमा स्थायी सरकार भएकाले लगानीका लागिसमेत उपयुक्त वातावरण छ,’ भेटमा मन्त्री पुनले भने । मन्त्री पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त योजनालाई सफल पार्न कतारको समेत सहयोग आवश्यक रहेको धारणा राखे ।
हाल ८० प्रतिशत जनतामा विद्युत्को पहुँच पु¥याइसकेको सरकारले तीन वर्षभित्र देशभर विद्युतीकरण गर्ने योजना अघि सारेको भन्दै मन्त्री पुनले कतार सरकारसँग ग्रामीण विद्युतीकरणको क्षेत्रमा समेत सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताए । नेपालमा उत्पादित बिजुली सरकारले खरिदको प्रत्याभूति गर्ने व्यवस्था गरेको भन्दै मन्त्री पुनले देश बाहिरसमेत भारत र बङ्गलादेश पनि क्षेत्रीय बजारका रूपमा रहेको जानकारी दिए ।
भेटमा कतारी विदेशमन्त्रीका अन्तर्राष्ट्रिय विकास मामिला हेर्ने सल्लाहकार समीर आर फ्रेङगीले नेपालको विकासमा सहयोग गर्न कतार इच्छुक रहेको बताए । उनले कतारले नेपालको ऊर्जा, पयर्टन र कृषिको क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको भन्दै लगानीका क्षेत्रबारे चासो राखेका थिए । त्यसका साथै ऊर्जा क्षेत्रमा समेत आफूहरू लगानी गर्न तयार रहेको बताएका थिए ।