काठमाडाैं - कुमारी बैंक र साउदी अरेबियाकाबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएकाे छ ।
कुमारी बैंकले विप्रेषण सेवा सहज बनाउन साउदी अरेबियाको बैंक अल बिलादसँग सहकार्य गरेको हाे ।
सम्झौताका अनुसार ग्राहकले बैंक अलबिलाद, साउदी अरेयिबाको एन्जाज एप, एन्जाज सेन्टर, अल बिलादका विद्युतीय प्रणाली, अलबिलाद एटिएम, एन्जाज प्वाइन्ट अफ सेल डिभाइस र एन्जाज सेल्फ–सर्भिस मेसिन मार्फत बाट सुलभ दरमा नेपाल पैसा पठाउन र कुमारी बैंकको देशव्यापी शाखा सञ्जाल लगायत कुमारी रेमिटका नेपालभरका १६ हजारभन्दा बढी भुक्तानी केन्द्र मार्फत रकम प्राप्त गर्न सक्ने छन् ।
बैंक अल बिलादमार्फत ग्राहकहरुले नेपालको कुनै पनि बैंक खातामा पैसा तुरुन्तै जम्मा गर्न सक्ने कुमारी बैंकले जनाएकाे छ । सो सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बैंक अल बिलादका एफआई प्रमुख मोहम्मद अल फुरैहले हस्ताक्षर गरेका छन् ।
सो सम्झौतापश्चात् नेपाल र साउदी अरेबियाका दुई बैंकबीचको साझेदारीले बैंकिङ्ग प्रणाली मार्फत विप्रेषण रकम ल्याउने र नेपालमा साउदीको लगानी भित्र्याउन मद्दत पुग्ने विश्वास कुमारी बैंकले लिएको छ ।
नेपालमा लगानीको अनुकूल वातावरण रहेको बताउँदै खनालले दुई बैंकको साझेदारीले नेपालमा विभिन्न क्षेत्रमा साउदीको लगानी प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताए ।
दुई बैंकहरूबीचको यस साझेदारीले रेमिट्यान्स सेवालाई सहज बनाउने र औपचारिक बैंकिङ प्रणालीेहरूमार्फत साउदीबाट आउने विप्रेषण रकम नेपालमा प्राप्त हुने जनाइएकाे छ ।