काठमाडौं- सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ ।
डिजेल प्रतिलिटर रु २९ र पेट्रोल प्रतिलिटर रु २० कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको हाे ।
शनिबार नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो ।
पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा यसअघि भाडादर बढेको थियो । यसअघि विभागले यात्रुबाहक सवारीसाधनमा कायम भाडादरभन्दा पाँच दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ ।
पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ६ दशमलव ९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा सात दशमलव ६८ प्रतिशत भाडा घटाइएको छ ।
वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गत असार ६ मा भाडादर समायोजन गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ १९:०६