काठमाडाैं - विभिन्न कामले उपत्यकामा रहेका नागरिक स्थानीय तह निर्वाचनका लागि जिल्लामा फर्कने क्रम बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि उपत्यकाबाट जिल्ला फर्कने मानिस बढेका छन् । मतदाता नामावली जिल्लामा रहेकाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोगका लागि उनीहरूले उपत्यका छाडेका हुन् ।
ट्राफिक प्रहरीका अनुसार अहिले दैनिक काठमाडौं आउनेभन्दा बाहिरिने बढिरहेका छन् । यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । औसतमा दैनिक १० देखि १५ हजार मानिसले उपत्यका छाडिरहेको ट्राफिक प्रहरीको अनुमान छ ।
कार्यालयका अनुसार सोमबारको तथ्यांक हेर्दा उपत्यकाबाट सात हजार ९११ सवारीमार्फत ५५ हजार ७४६ यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिने संख्या भने ४२ हजार ५४४ छ । अघिपछि दैनिक भित्रिने र बाहिरिने मानिसको संख्या बराबरजस्तै हुने गरेकामा अहिले भने १० देखि १५ हजार बढी बाहिरिएका छन् । अबको दुई दिन यो क्रम अझै बढ्ने छ ।
यसमा निजी गाडी र रिजर्भ गाडीमा गएका यात्रुको संख्या भने जोडिएको छैन । कतिपय नागरिक निजी गाडी तथा सार्वजनिक सवारीसाधनमा जिल्ला गइरहेका छन् भने कतिपय नागरिक उम्मेदवार र राजनीतिक दलका झण्डा र चुनाव चिह्नसहित रिजर्भ गाडीमा गइरहेका छन् ।
ती नागरिकले उम्मेदवार तथा दलका प्रतिनिधिले नै गाडी रिजर्भ गरेकाले मतदानका लागि जिल्ला गएको प्रतिक्रिया दिएका छन् । यसपालि निर्वाचनको समयमा कुनै पनि आपराधिक गिरोहको सक्रियता नभएकाले पनि निर्वाचनको माहोल बढी नै तातेको छ ।
यसपटक देशभरका सबै स्थानीय तहमा एकैदिन निर्वाचन हुँदै छ । यस निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९ १०:३४