काठमाडौ - काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ ।
आगलागीमा घाइते भएका उनको सोमबार साँझ नै कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए ।
अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो । सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।
चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।
प्रहरीले आगलागीको कारण र घटनाको पृष्ठभूमिबारे अनुसन्धान अघि बढाएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय र प्रहरीले छुट्टाछुट्टै छानबिन समेत अघि बढाएको छ।