काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण धेरै आप्रवासी श्रमिक ज्याला (पारिश्रमिक) ठगीको समस्यामा परेका छन् । तर, ज्याला ठगीसँग सम्बन्धित उजुरी भने न्यून पर्ने गरेको पाइएको छ । कोभिड–१९ को समयमा स्वदेश फर्किएका नेपाली तथा बंगलादेशी श्रमिकहरूमा गरिएको अध्ययनले यस्तो तथ्यांक देखाएको हो ।
साउथ एसियन ट्रेड युनियन काउन्सिल (सार्टुक)ले माइग्रेण्ट फोरम इन एसिया (एमएफए)सँगको साझेदारीमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा दुई देशका आप्रवासी श्रमिकसँग लिइएको तथ्यांकको निश्कर्ष प्रस्तुत गरिएको थियो ।
कोभिड–१९ को महामारी सुरू भएपछि नेपाल फर्केका १४२ जना प्रतिनिधिमूलक श्रमिकसँग कुराकानी गरेर तथ्यांक तयार पारिएको बताइएको छ । जसअनुसार स्वदेश फर्केकामध्ये ३७.६ प्रतिशतले मात्र आफूले विदेशस्थित नेपाली नियोगमा उजुरी दर्ता गराएको बताएका थिए ।
स्वदेश फर्केकामध्ये २०.४ प्रतिशतले आफूले नेपालमा आइसकेपछि वैदेशिक रोजगार विभाग, पालिका वा प्रहरीमा उजुरी दर्ता गराएको बताएको अध्ययनमा संलग्न अधिकारीहरूले बताए । तर, उनीहरूको उजुरीउपर के–कस्तो सुनुवाइ भयो भन्ने विषय स्पष्ट हुन नसकेको बताइएको छ ।
अध्ययनमा समेटिएका स्वदेश फर्केका श्रमिकमध्ये सबैभन्दा धेरै २१.५ प्रतिशतले आफूले तलब नपाएको बताएका थिए । यसैगरी ८.६ प्रतिशतले आफूलाई जबर्जस्ती कामबाट निकालिएको, ११.८ प्रतिशतले तलब घटाइएको तथा पेन्सन सुविधाबापत प्राप्त हुने रकम कटौती भएको बताएको प्रतिवेदनमा उल्लेख छ ।
उक्त अवधिमा बंगलादेशमा एक हजार १६० जना प्रतिनिधिमूलक श्रमिकसँग लिइएको तथ्यांकअनुसार स्वदेश फर्केकामध्ये ९२ प्रतिशतले आफूले कहीँ पनि उजुरी नगरेको बताएका छन् । उनीहरूमध्ये ३५ प्रतिशतले आफूलाई कहा“ उजुरी गर्नुपर्छ भन्नेसमेत जानकारी नभएको बताएको प्रतिवेदनमा उल्लेख छ ।
२० प्रतिशतले आफूले न्याय पाउ“छु भन्ने विश्वास नभएको तथा २४ प्रतिशतले रोजगारदाताको डरका कारण उजुरी दर्ता गर्न नसकेको बताएका छन् । बाँकीले आफूलाई कालोसूचीमा राख्ने र पुनः सोही मुलुक जान नपाउने तथा आफू पूर्णरूपमा रोजगारदातामा निर्भर रहेका कारण कानुनी उपचारका बारेमा सोच्न नसकेको बताएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्ययनअनुसार स्वदेश फर्केकामध्ये औसत एक जना श्रमिकले आफूले पाउनुपर्ने करिब दुई हजार ११९ अमेरिकी डलर बराबरको ज्याला तथा अन्य सुविधा नपाएको देखिएको छ । सबैभन्दा कम ३५ डलर तथा सबैभन्दा बढी सात हजार ६३ डलर बराबरको ज्याला ठगी भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
स्वदेश फर्केकामध्ये ४८.६ प्रतिशतले रोजगारी गुमेका कारण स्वदेश फर्किन बाध्य भएको बताएका छन् । यसैगरी ३८.७ प्रतिशतको तलब घटेको, १५.५ प्रतिशतले रोजगारीको कार्यसमय कम भएको र ६७.७ प्रतिशतले आङ्खनो ज्याला गुमेको बताएका थिए ।
अध्ययनमा संलग्न संस्थाहरू सेस्लम तथा रामरूले यस्तो महामारीको समयमा आप्रवासी श्रमिकहरूको अधिकार धेरै हनन हुने देखिएको भन्दै उनीहरूको अधिकार रक्षाका लागि थप प्रभावकारी व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।