काठमाडौं– अवैध हुण्डीको कारोबारमार्फत नेपाली मुद्रा विदेशतर्फ बाहिरिने क्रम बढेको पाइएको छ । ट्राभल एजेन्सी तथा चीनबाट सामान ल्याएर व्यापार गर्ने व्यवसायीले वार्षिक खर्बौं रकम चीनमा हुण्डीमार्फत पठाउने गरेको पाइएको हो ।
यस्तो रकम चीन हुँदै तेस्रो मुलुकमासमेत लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।नेपाल राष्ट्र बैंकले हुण्डीमार्फत हुने कारोबारलाई ‘अवैध’ भनेर परिभाषित गरेको भए पनि यसको नियन्त्रणमा सरकार असफल भएको देखिएको छ । गोप्यरूपमा हुँदै आएको यस्तो कारोबार पछिल्लो समय मौलाउँदै गएको भेटिएको छ ।
एकजना व्यवसायीका अनुसार चीनबाट नेपालमा सामान आयात गर्न अवैधरूपमा हुण्डीमार्फत पैसा पठाउने गरिएको छ । २०७२ सालको भूकम्पपछि केही कम हुँदै आएको यस्तो कारोबार कोरोना भाइरसको संक्रमणको समयमा केही रोकिएको थियो । नेपाल–चीन नाकाबाट सामान आयात खुला भएसँगै सामान खरिद गर्न सबै रकम हुण्डीमार्फत पैसा चीन लैजाने गरेको ती व्यवसायी बताउँछन् ।
यसरी चीनमा हुण्डीमार्फत अवैध रूपमा पैसा बाहिरिँदा मुलुकले करोडौँ राजस्व गुमाउनुपरेको छ । व्यवसायीहरूले मात्र हुण्डीमार्फत पाँच करोड ८२ लाख रूपैयाँभन्दा बढी पैसा विदेश पठाएको जनाइएको छ । उक्त रकम सबै हुण्डीमार्फत चीनको ग्वान्झाउ सहरबाट सामान नेपाल ल्याउनका लागि पठाएको ती व्यवसायीको भनाइ छ ।
अधिकांश रकम त्यहाँबाट अन्य देश लैजाने गरेको दाबीसमेत उनले गरेका छन् । उक्त सहरमा नेपाली रूपैयाँ नचल्ने भएकाले आवश्यक रकम अमेरिकी डलरमा साटेर पठाउँदै आएको आरोप लागेको छ । नेपाली हुण्डी एजेण्टहरूले अवैधरूपमा चीनको स्वशासित क्षेत्र तिब्बतमा ठूलो रकम निकासी गर्दै आएका छन् । राजधानीमा खुलेका कार्यालय, होटल र गेष्टहाउसबाट अवैधरूपमा हुण्डीको कारोबार गरिँदै आएको छ ।
एक व्यवसायीका अनुसार नेपाल र चीनबीचको व्यापारिक कारोबारमा नेपाली व्यापारीहरूले राजधानीको नयाँ बसपार्कमा रहेका विभिन्न होटल तथा गेष्टहाउसबाट एक खर्ब रूपैयाँभन्दा बढी रकम हुण्डीमार्फत रकम तिब्बतको ग्वान्झाउ सहरमा पठाएका छन् । उक्त कार्यमा विगतमा अवैधरूप हुण्डीको कारोबार गर्दा रंगेहात पक्राउ परेका व्यापारीहरू नारायण पौडेल, बच्चु पौडेल, विष्णु खत्री, सुमन खत्रीलगायत अन्य व्यवसायीको संलग्नता रहेको उनको दाबी छ । शक्ति र पैसाको आडमा उनीहरूले अवैध धन्दा चलाउँदै आएको आरोप लागेको छ ।
यस विषयमा कुरा गर्न उक्त समूहका एक सदस्य विष्णु खत्रीलाई फोन सम्पर्क गर्दा उनको फोन सम्पर्क हुन सकेन । यसैगरी लामो समयदेखि अवैधरूपमा हुण्डीको कारोबार गर्दै आएका प्रदीप सरिया, गोविन्द सरिया, शोभा खरेल, मोहन अग्रवाल, पवन सरिया, हरि चिरानियाँ, राजु मालु, मदन केसी, कृष्ण ज्ञावालीले समेत हुण्डीकै कारोबार गर्दै आएको एक अध्ययनबाट खुलेको छ ।
मैतिदेवीस्थित घरमा डेरा गरी बस्ने शिवरतन पोछार हुण्डीमार्फत कारोबार गरिरहेको अवस्थामा २५ लाख ५० हजार रूपैयाँसहित पक्राउ परेपछि हुण्डीको कारोबार हुने गरेको रहस्य खुलेको हो । राजस्व अनुसन्धान विभागको अनुसन्धानबाट उक्त कारोबार घरघरबाट हुने गरेकोसमेत पत्ता लागेको जानकारी दिइएको छ । विभागका अनुसार पोछारले दैनिक ५० लाख रूपैयाँसम्म हुण्डीमार्फत कारोबार गर्दै आएको पाइएको छ ।
ट्राभल्स एण्ड टुरको कार्यालय स्थापना गरी तेस्रो मुलुक र भारत–चीनमा हुण्डीको कारोबार गर्दै आएकाले अर्बाै रूपैयाँ राजस्व देशलाई नोक्सानी भएको राजस्व विभागले जनाएको छ । ट्राभल्सको कारोबार गर्ने भन्दै खुलेका ट्राभल एजेन्सीहरूले सिंगापुर इन्टरपाइजेज सुनधारा, धाख्वा विलिङका सञ्चालक रवी कचुरिया, मनकामना ट्राभल्सका सञ्चालक मदन केसी, दरबारमार्गको इमिरेट्स ट्राभल्सका सञ्चालक राजु मालु, सुनधाराको युनिक ट्राभल्स एण्ड टुर्स, एडभान्स मनी ट्रान्सफर र पशुपति मनी ट्रान्सफरलगायत अन्यबाट यस प्रकारको अवैध धन्दा चलाउँदै आएका छन् ।
अवैधरूपमा नेपालबाट भारत, अस्ट्रेलिया, दक्षिण कोरिया र खाडी मुलुकमा बढी मात्रामा हुण्डीमार्फत कारोबार हुने गरेका छन् । विभागले युनिक ट्राभल्सका सञ्चालक कृष्ण ज्ञावालीलाई तारिखमा छोडेकै अवस्थामा उनले मौका छोपी पुनः हुण्डीमार्फत नै रकमको कारोबार गरिरहेको बताइएको छ । मनकामना ट्राभल्सका सञ्चालक अझै फरार भएको विभागले जनाएको ।
युजिन र एडभान्सका सञ्चालक ज्ञावालीले ट्राभल्सको बोर्ड राखेर हुण्डीको कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको जनाइएको छ । काठमाडौंमा एउटा व्यवसायको बोर्ड राखेर अवैध हुण्डीको कारोबार गर्ने गरेकोसमेत विभागले गरेको अनुसन्धानबाट खुलेको छ । नेपाली व्यापारीले भारत, चीन, दक्षिण एसिया, पूर्वी एसिया र युरोपसम्म हुण्डीबाटै कारोबार गर्ने गरेका छन् ।
यसबाट कारोबार गर्दा व्यापारीले कुनै डकुमेन्ट बनाउनु नपर्ने र पर्यटन भिसामा बस्नेले सस्तोमा अवैधरूपमा रकम पठाउने भएकाले यसबाट राजस्व छली हुँदै आएको छ । अधिकांश व्यापारीले सामान एउटै भन्सार एजेण्टबाट भन्सार पास गराइदिने गरेकोले यसको कुनै वैधानिक प्रमाण हुँदैन । यसरी सयौँ व्यापारीले हुण्डीमार्फत व्यापारिक कारोबार गर्दा खर्बभन्दा बढी रकम एकै महिनामा बाहिरिने गरेको आकलन गरिएको छ ।