काठमाडौं - सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेकाे छ ।
सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो मन्त्रिपरिषद्को बसेको बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गरेको छ ।
सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले खानेपानी मन्त्रालय र अन्तर्गत निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने, प्रहरी (दशौँ संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।
सञ्चारमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकले श्रीलङ्काको कोलम्बोमा यही चैत्र १६ मा आयोजना हुने बिम्स्टेक सदस्य राष्ट्रहरूको पाँचौँ शिखर सम्मेलनमा प्रधानमन्त्रीबाट भर्चुअल रुपमा सहभागिता जनाइने जानकारी दिँदै साबिक विराटनगर नगर विकास समितिको क्षेत्र संशोधन गरी विराटनगर नगर विकास समिति गठन गर्ने निर्णय भएको बताए ।
उनले बिम्स्टेक मन्त्रीस्तरीय बैठकमा परराष्ट्र मन्त्री तथा परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलले भौतिक रुपमा सहभागिता जनाउन नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको पनि बताए ।
मन्त्रिपरिषद् बैठकले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा भानु नगरपालिका–९, तनहुँका प्रेमराज भण्डारीलाई नियुक्त गर्ने निर्णय गर्नुसँगै विद्युत् नियमन आयोगको रिक्त सदस्य पदमा ललितपुरका गौतम डङ्गोललाई नियुक्त गर्ने निर्णय गरेको बताए ।
यसैगरी पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष पदमा ताप्लेजुङका रक्की थेबेलाई तोक्नुसँगै कैलालीको धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन र फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य अगाडि बढाउन स्वीकृति दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिएका छन् ।