काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका तीन वटा पात्रो (पञ्चाङ्ग) लाई आवश्यक कारबाहीको प्रक्रिया बढाएको छ ।
समितिले गठन गरेको बजार अनुगमन उपसमितिले हालसम्म नेपाल पञ्चाङ्ग, ज्वाला पञ्चाङ्ग र मुक्तिनाथ पञ्चाङ्ग स्वीकृति नलिई प्रकाशन गरेर बजारमा बिक्री वितरण भइरहेको अवस्थामा फेला पारि शास्त्रीय मान्यता विपरीत व्रतबन्धजस्ता शुभ साइत दिइएकोमा आवश्यक कारबाहीको प्रक्रिया बढाएको हाे ।
ज्वाला पञ्चाङ्गले अपराह्नपछि पनि व्रतबन्धमा मन्त्रदानको साइत दिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् । शास्त्रीय मान्यता अनुसार व्रतबन्धमा मन्त्रदानको साइत अपराह्न १२ बजेभन्दा अघि नै दिनुपर्छ । तर ज्वाला पञ्चाङ्गले भने १२ः३१ बजे मन्त्रदानको साइत दिएको छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो किनेर त्यसका आधारमा हेर्ने तिथि, नक्षत्र, योग, करणलगायत मुहूर्त, साइतमा फरक परेमा समिति जवाफदेही नहुने भएकाले सचेत हुन आह्वान गरेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । समितिले यसवर्ष १४ वटा पात्रोलाई स्वीकृति दिएको र तिनमा समितिको स्वीकृति पत्र पनि छापिएकाले आधिकारिक पात्रो हेरेर खरिद गर्न उनले सर्वसाधारणमा आह्वान गरेका छन् ।
समितिबाट स्वीकृति लिएका १४ पात्रो
विसं २०७९ का लागि समितिले तोयनाथ पन्तको पञ्चाङ्ग, बाबुराम पञ्चाङ्ग, नरनाथ पञ्चाङ्ग, हिमाल पञ्चाङ्ग, अठोला पञ्चाङ्ग, तारकेश्वर पञ्चाङ्ग, सूर्य पञ्चाङ्ग, आकाश दर्शन पञ्चाङ्ग, बगलामुखी पञ्चाङ्ग, शुभ पञ्चाङ्ग, बाबा गोरखनाथ पञ्चाङ्ग, कीर्ति पञ्चाङ्ग, सिद्धि पञ्चाङ्ग, खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ वटालाई स्वीकृति दिएको छ । समितिले प्रकाशन गर्ने ‘राष्ट्रिय पञ्चाङ्ग’सहित १५ पात्रो आगामी वर्षका लागि उपयोग गर्न सकिने अध्यक्ष अधिकारीले बताएका छन् ।
स्वीकृति नलिनेलाई बिक्रीवितरणमा रोक लगाउने प्रक्रिया सुरु
समितिको गठन आदेश २०७७ को दफा ‘ञ’ मा कुनैपनि पात्रो वा भित्तेपात्रोले प्रकाशन पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । गठन आदेश मन्त्रिपरिषद्को २०७७ पुस २० गतेको बैठकले पारित गरेको थियो ।
यसैगरी आदेशको दफा ‘ठ’ मा स्वीकृति नलिई प्रकाशन हुने पात्रो वा भित्तेपात्रोलाई बिक्री वितरणमा रोक लगाउने व्यवस्था छ । स्वीकृति नलिई प्रकाशन भएका तीनै वटा पात्रोको बिक्री वितरणमा रोक लगाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमार्फत् गृह मन्त्रालयमा पत्राचार गर्न लागिएको कार्यकारी निर्देशक ढुङ्गेलले सुनाए ।
समितिले यस वर्षदेखि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनका लागि तयारी अन्तिम चरणमा पुर्याएको छ । यही चैत महिनाको अन्तिमसम्म ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन भइसक्ने छ । गठन आदेश बमोजिम समितिले नौ जनाको सङ्गठन संरचना तयार पारी मन्त्रालयमा पेश गरेको छ । समितिको सङ्गठन संरचना अहिले संस्कृति मन्त्रालयबाट अर्थ मन्त्रालय पुगेको छ ।
समितिले भित्तेपात्रो स्वीकृति दिने प्रक्रियालाई पनि अघि बढाएको छ । हालसम्म सवा सयभन्दा बढी भित्तेपात्रोले प्रकाशनका लागि समितिसँग स्वीकृति लिएका छन् ।
भित्तेपात्रोमा राज्यको ठूलो कोष खर्च हुने गरेको छ । एउटै कार्यालयका शाखा, शाखा एवं सङ्गठन नै पिच्छे भित्तेपात्रोको प्रकाशन हुने र चाडपर्व, बिदालगायत विषयमा फरक–फरक तथ्या उल्लेख गर्दा जनतामा भ्रम हुने गरेकामा यसवर्षदेखि नियमन सुरु भएको छ ।