काठमाडौं– प्रतिष्ठित व्यापारी सुरज वैद्यको स्वामित्वमा रहेको नेपाल वेलहोप एग्रिटेक प्रालिले उत्पादन गरेको ‘विजय प्यालेट’ दाना गुणस्तरहीन भएको पाइएको छ ।
विजय प्यालेट दानामा सिटिसी, बिएमडीलगायतका एन्टिबायोटिक्स मिसाएको पाइएको छ । कुखुरा बिरामी परेको बेलामात्र खुवाइने उक्त औषधि वैद्यको कम्पनीले उत्पादन गरेको दानामा पहिले नै मिसाएको पाइएको हो ।
सुरूमा ग्राहकले दानाको प्रतिबोरा तौल कम रहेको गुनासो गरेपछि परीक्षण गर्दा दाना गुणस्तरहीन भएको पाइएको छ । उक्त एन्टिबायोटिक्सको जथाभावी प्रयोगले कुखुराको मासु सेवन गर्ने उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने विज्ञहरूको भनाइ छ ।
सिटिसी, बिएमडीलगायतका एन्टिबायोटिक्स कुखुरा बिरामी भएका बेला मात्र खुवाउनुपर्ने एन्टिबायोटिक्स हो । तर, आफ्नो दाना राम्रो रहेको भ्रम छर्न पहिल्यै उत्पादक कम्पनीले दानामा एन्टिबायोटिक्स मिसाउने गरेको पाइएको छ ।
जुन अनधिकृत रहेको गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले जानकारी दिएको छ । कार्यालयले विजय प्यालेटमा त्यस्ता एन्टिबायोटिक्सहरू मिसाएको पाइएको पुष्टि गरेको छ । परीक्षणका क्रममा एन्टिबायोटिक्सको अनधिकृत प्रयोग भएको पाइएपछि सम्बन्धित कम्पनीलाई सजग गराइएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नियमअनुसार पशु आहारमा एन्टिबायोटिक्स मिसाउन पाइँदैन । कुनै दाना उत्पादन कम्पनीले त्यसो गर्छ भने कानुनतः त्यो दण्डनीय हुने गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।
तर, नियामक निकायको कमजोर भूमिका र आफू शक्तिसम्पन्न व्यवसायी भएकाले सरकारी निकायलाई कमिसनकै भरमा ‘अवैध धन्दा’ चलाउँदै सेवाग्राहीको गुनासो छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेको वैद्य पछिल्लो समयमा विभिन्न ठगी काण्डमा मुछिँदै आएका छन् । उनले उत्पादन गर्दै आएको दानामा अनधिकृत एन्टिबायोटिक्सको प्रयोग मात्र होइन तौलसमेत कम भएको पाइएको छ । तोकिएको भन्दा कम तौलको दाना दिएर वैद्यको कम्पनीले उपभोक्तामाथि ठगी गरिरहेको आरोप लागेको छ ।
एक उपभोक्ताले कुखुराको दानाको बोरामा तोकिएको भन्दा कम तौल रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी नै दिएका थिए । चितवनका कुखुरापालक किसान मनोजकुमार बोहोराले कम्पनीविरुद्ध प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । उक्त उजुरीपछि अनुगमनका क्रममा वैद्यका कम्पनीले उत्पादन गरेको दानाको बोरामा कम तौल भएको पाइएको हो ।
चिनियाँ व्यवसायीसँगको साझेदारीमा चितवनको भरतपुरस्थित कल्याणपुरमा खोलिएको वेलहोप दाना उद्योगले उत्पादन गरेको दानाको कम तौल र गुणस्तरहीन भएको भन्दै किसानहरूले स्थानीय प्रशासनसँगै जनप्रतिनिधिलाई पनि गुहारेका थिए ।
स्थानीय प्रशासनको रोहबरमा उद्योगका उत्पादन तौल नाप्दा मापदण्डभन्दा कम रहेको फेला परे पनि सो कम्पनीका सञ्चालक वैद्यमाथि भने सरकारले कारबाही नगरी उन्मुक्ति दिइएको छ । भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष नरिनारायण पौडेलले समेत सार्वजनिक रूपमा सो कम्पनीले उपभोक्तामाथि कम तौल राखेर महँगोमा दाना बेच्दै आएको बताएका थिए ।
अध्यक्ष पौडेललेसमेत यो सरासर ठगी र शोषण भएको भन्दै कारबाहीका लागि प्रशासनलाई आग्रह गरेका थिए । तर, प्रशासन कार्यालयले कस्तो कारबाही ग¥यो भन्नेबारे केही जानकारी दिन चाहेको छैन ।नेपाल वेलहोप एग्रिटेक प्रालिले उत्पादन गरेको कुखुराको दानाको बोरामा उल्लेख गरिएभन्दा तौल कम रहेको पाइएको प्रमाणित सम्बन्धित सरकारी निकायले गरिसकेको छ ।
ठगीको आरोप लागेको कम्पनीलाई कारबाही सिफारिस गर्दै वडाध्यक्ष पौडेलले १६ वैशाख ०७८ मा नै जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ गराएको भए पनि कारबाही गर्न आनाकानी गर्दै आएको पाइएको छ ।सो पत्रमा कुखुरापालक व्यवसायी बोहराले विगत दुई वर्षदेखि दाना खरिद गरिरहेको वेलहोप फिडबाट उत्पादित विजय प्यालेट दाना प्याकेटमा उल्लेख गरिएको तौलभन्दा कम रहेको भन्दै दिएको उजुरीका आधारमा जाँच गर्दा उत्पादनका बोरा कम तौलका रहेको पाइएको थियो । यसबारे थप अनुसन्धान गरी उचित कारबाही गर्न÷गराउन प्रशासनसमक्ष आग्रह गरेको उल्लेख छ ।
व्यवसायी बोहराले जस्तै अन्य उपभोक्ताले पनि गुनासो गरेपछि जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय प्रशासनको रोहबरमा दानाको बोरा नापतौल गरिएको समेत जनाइएको छ । वेलहोपले बिक्रीका लागि पठाएको दानाको बोरामा ५० केजी तौल रहेको उल्लेख गरे पनि दानाको प्याकेटमा पाँच केजीसम्म तौल कम गरी अत्यधिक मूल्यमा बेच्दै आएको दाबी उपभोक्ता र जनप्रतिनिधिको रहेको छ ।
सामान्यतया एउटा दानाको बोरा ५० देखि ७० किलोग्रामसम्मका हुनुपर्नेमा बिक्रीका लागि प्याकिङ गरेर पठाइने हरेक वस्तुमा बोराको तौल कम भएको भेटिएको छ । वेलहोपका उत्पादनमा पाँचकेजी प्रतिबोरा कम तौल भेटिएपछि हामीले सम्बन्धित निकायलाई पत्राचार गरेका वडाअध्यक्ष पौडेलले बताएका छन् ।
आफू पीडित र शोषित भएको भन्दै स्थानीय जनप्रतिनिधि गुहार्ने क्रममा आफू र आफूजस्ता धेरै किसान ठगिएको गुनासो गरेको पीडित किसान बोहोराको भनाइ रहेको छ । उनले आफूले दुई वर्षदेखि वेलहोपको उत्पादन खरिद गरिरहेको तर शंका लागेर तौल गर्दा पटक–पटक ठगिएको बताए ।
कमतौल भएको बारे पटक–पटक कम्पनीलाई जानकारी दिँदा उल्टै आफूमाथि दूव्र्यवहार गरेको पीडित बोहराले बताएका छन् । वेलहोपले उत्पादन गरेको दानाको तौलमा मात्र होइन, गुणस्तरहीनसमेत रहेको भेटिएको थियो ।
यस सम्बन्धमा कुरा गर्न कम्पनीका सञ्चालक वैद्यको फोनमा सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
लामो समयदेखि जापानिज कम्पनीको गाडी ‘टोयटा’को आधिकारिक बिक्रेता रहेका वैद्यले उक्त गाडीको बिक्रीमा पनि ठगी गरेको आरोप लाग्दै आएको छ । उनले टोयटाको बिक्रीमा खरिदकर्तासँग विभिन्न गैरकानुनी शीर्षकमा रकम असुली गर्दै आएको आरोप लागेको हो ।