काठमाडौं - तीन दिनमा नै तीन वटा नयाँ सवस्टेशनको उद्घाटन गरिएको छ । विद्युतीय पूर्वाधार निर्माणमा आक्रामक बन्दै प्राधिकरणले कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ मा निर्माण सम्पन्न भएको १३२/३३/११ केभी क्षमताको मोतीपुर सवस्टेशनको उद्घाटन गरेको हाे ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालले सबस्टेसनको बिहीबार उद्घाटन गरेकाे प्राधिकरणले जनाएको छ । विद्युतीय पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले लगातार सफलता हाँसिल गरिरहेको छ ।
गुणस्तरीय तथा भरपर्दो विद्युत् सर्वसुलभ रुपमा सबैलाई उपलब्ध गराउने योजनालेसमेत अब क्रमशः मूर्तरुप पाउन थालेको छ । देशभित्रै बिजुलीका खपत बढाउने लक्ष्यका साथ सरकारले अनेकन प्रयास गरिरहेको छ ।
देशभर नै भरपर्दो प्रणालीको विकासका लागि प्राधिकरणले ठूलाठूला प्रसारण लाइन तथा सवस्टेशन निर्माण गरिरहेको छ ।।
उद्घाटन कार्यक्रममा मन्त्री भुसालले सरकारले ऊर्जा खपत बढाउन पहल गरिरहेको उल्लेख गर्दै औद्योगिक तथा घरायसी प्रयोजनका लागि विद्युत् प्रयोग गर्न आग्रह गर्नुभएको प्राधिकरणले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सवस्टेशनले मोतीपुर क्षेत्रको विद्युत् आपूर्तिमा सन्तुलन ल्याउने र स्थानीयवासीले भरपर्दो बिजुली प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुणस्तरीय र पर्याप्त विद्युत् आपूर्तिका लागि पूर्वाधार बनेको उल्लेख गर्दै मोतीपुर क्षेत्रमा उद्योग स्थापनाका लागि औद्योगिक वातावरण बनाउन आग्रह गरेका छन् ।
उनले सवस्टेशनबाट विद्युत् आपूर्ति सुरु भएपछि यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको तथा प्राविधिक चुहावटसमेत कम भएको बताएका छन् ।
मोतीपुर सवस्टेशनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा विद्युत् आपूर्तिका लागि क्रमश ः ३३ केभी र ११ केभी फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको बताइएकाे छ । यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत् आपूर्ति भइरहेको थियो ।
पूर्वपश्चिम १३२ केभी प्रसारण लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सवस्टेशनमा लगिएको छ । सवस्टेशनमा रहेका ३० र १६ एमभिएका पावर ट्रान्सफर्मर छन् ।
कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको प्राधिकरणले बताएकाे छ ।
आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् । नेपाल सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत करिब रु तीन अर्ब छ ।