काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य सङ्घको ५५औँ स्थापना दिवसका अवसरमा मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको अर्थमन्त्री शर्माले उल्लेख गरेका हुन् ।
बैंकको ब्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताएका छन् । उनले भने, “सांस्कृतिक शहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाकोसमेत प्रवद्र्धन गर्ने योजना छ ।” उनले कार्यक्रममा उपस्थित व्यवसायीसँग सल्लाह तथा सुझावसमेत मागेका छन् ।
बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि पनि छलफल थालेको बताएका छन् । ‘बैंकले आफुखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सिमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’ उनले भने, ‘राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न हुँदैन पनि भनेको छु ।’ उनले चाँडै बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने विश्वास दिलाएका छन् ।
त्यस्तै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृङ्खलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै बिस्तारै सुधार भइरहेको बताए । ‘शोधानान्तर स्थितिमा सुधार हुँदैछ । हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौं’ उनले भने ।
उनले ४७ बस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने जानकारी दिएका छन् । कार्यक्रममा २५ वर्ष निरन्तर सङ्घको सदस्य भएका व्यक्तिलाई प्रशंसापत्र वितरण गरिएको थियो । यस्तै नेपालको संस्कृति र साहित्यमा योगदान पुर्याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।