काठमाडौं - नेपाल घरेलु तथा साना उद्योग महासंघले निकायमा स्वदेशी वस्तुको उपयोग बढाउन निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ २०४७ सालमा स्थापना भएको लघु घरेलु तथा साना उद्योगीहरुको प्रमुख छाता संस्थाले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने भएको हाे ।
महासंघको हालै वीरगञ्जमा सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट चयन भएको नयाँ कार्यसमितिले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा लामो समयदेखि अन्यौलमा रहेकोले साे निर्णाय गरेकाे हाे ।
नवनिर्वाचित अध्यक्ष उमेशप्रसाद सिंहले नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेको भन्दै उक्त निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल शुरु गर्ने बताएका छन् ।
स्वदेशी उत्पादनको संरक्षण र प्रवद्र्धन तथा यस्ता उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले निर्देशिका ल्याए पनि त्यो हालसम्म कार्यान्वयनमा जान नसकेको भन्दै उनले निर्देशिकाको अक्षरस पालना गराउन सरकार र सरोकारवाला निकायसँग छलफल शुरु गर्ने बताए।
स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि, रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले ल्याएको उक्त रणनीति कार्यान्वयन गराउन सके अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान ह्वात्तै बढ्ने अध्यक्ष सिंहको भनाइ थियो ।
मुलुकभर सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको स्तरोन्नती, पुनर्उत्यान र विस्तारका कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने र उद्यमीको क्षमता अभिबृद्धि गरी गुणस्तरीय वस्तु उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम सञ्चालनमा सहयोग र समन्वय गर्ने योजना रहेको पनि अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा सुनाए ।
नेपालका लघु, घरेलु तथा साना उद्योगहरुको विद्युतीय तथ्याङ्क अद्यावधिक गर्नुका साथै विद्यमान नीति, ऐन तथा कार्यविधिहरुलाई लघु, घरेलु तथा साना उद्योग मैत्री बनाउन पहल र प्रयत्न गर्ने योजना महासंघको रहेको छ ।
लघु, घरेलु तथा साना उद्यमीहरुलाई आवश्यकता अनुसार पर्याप्त मात्रामा उद्योग प्रवद्र्घन र विकासका कार्यक्रमहरु उपलव्ध गराउन नसकेको अवस्थालाई मध्येनजर गर्दै आर्थिक व्यवस्थापनलाई मजबुत बनाउदै लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्घनका लागि पर्याप्त कार्यक्रमहरु उपलब्ध गराउन पहल गर्ने योजना रहेको महासंघले जनाएकाे छ ।
सात वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउन सहजीकरण गर्ने पनि महासंघको योजना रहेको छ ।
नेपाल जस्तो कम विकसित मुलुकको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योग व्यवसायले अहम् भूमिका निर्वाह गर्दै आएको भन्दै अध्यक्ष सिंहले भन्नुभयो – “वास्तवमै नेपालको औद्योगिक इतिहासलाई सिंहावलोकन गर्ने हो भने नेपालमा सञ्चालित सम्पूर्ण उद्योगहरुको ९५ प्रतिशत लघु, घरेलु तथा साना उद्योगले ओगटेको छ ।
उद्योग विभागको पछिल्लो आँकडा अनुसार आर्थिक वर्ष २०७७/७८ सम्ममा मुलुकभर कुल छ लाख दुई हजार ९२१ लघु, घरेलु तथा साना उद्योग दर्ता भएका छन । यस मध्ये चार लाख ५७ हजार ६४३ उद्योगहरु दर्ता कायम भई सञ्चालनमा रहेका छन् ।
पत्रकार सम्मेलनमा महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरी, पूर्व अध्यक्ष सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्ष हरिहर थापा, महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतले महासंघका भावी योजनाबारेमा चर्चा गरे।