

काठमाडौं– सरकारले यही चैतमहिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्नेगरी काम गरिरहेको छ । करिब २८ वर्षको पर्खाइपछि काठमाडौं उपत्यकामा परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकामा वितरण गरेको थियो । तर, गएको १ असारमा आएको बाढीले आयोजनामा क्षति पुर्याएपछि पानी वितरण कार्य रोकिएको थियो ।
हाल बाढीले क्षति पुर्याएको आयोजना मर्मतको काम तीव्र गतिमा भइरहेको छ । सरकारले चैत महिनाभित्रै उपत्यकामा पानी वितरण गर्ने गरी मर्मतको कार्य सक्ने बताएको छ । सोही योजनाअनुसार खानेपानीमन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् । बुधबार सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैत मसान्तसम्म जसरी पनि पानी काठमाडौं पुर्याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिएका हुन् ।
मन्त्री चौधरीसँगै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेललगायत सहभागी थिए । निरीक्षणका क्रममा मन्त्री चौधरीले केही दिनअघि ठेकेदारले केही समय काम रोकेको भन्दै उनले भुक्तानी समयमै गर्न सरकार तयार रहेको तर कुनै पनि बहानामा काम ढिलो हुन नहुने बताए ।
मन्त्री चौधरीले डलरमा रकम भुक्तानी गर्न केही समय लागेको तर नेपाली रूपैयाँ सरकारले ठेकेदारलाई सम्झौताअनुसार भुक्तानी गरिरहेको पनि सो अवसरमा स्पष्ट पारेका छन् । स्थानीय प्रभावित, बाढी प्रभावितको मागमा मन्त्रालय, खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक रहेको उनले बताए । ‘सबैका उचित माग पूरा हुन्छन्, यसतर्फ सरकार सजग छ, तर काम बन्द गर्ने काम कसैले पनि गर्नु हुँदैन, कुनै पनि हालतमा सरकारले तोकेको समय यही महिनाभित्रै काठमाडौँ पानी पुर्याउनुपर्छ,’ उनले भने ।
मन्त्री चौधरीले ठेकेदार कम्पनीले काम सुरु गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले त्यहीअनुसार काम हुनुपर्नेमा जोड दिएका छन् । उहाँले हाल जारी रहेको कामको गति चित्तबुझ्दो रहेको पनि बताए । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले अम्बाथान पोर्टल अडिटमा सोचेभन्दा बढी गेग्रान थुप्रिएकाले व्यवस्थापनमा केही समय बढी लागेको बताएका छन् ।
उनले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्म पानी काठमाडौँ लैजाने गरी काम भइरहेको जानकारी दिए । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको जानकारी उनले दिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन रु पाँच लाखले नपुग्ने भन्दै रकम थप गर्न सरकारसँग आग्रह गरे । उनले सामाजिक उत्थान कार्यक्रमको रकम सम्बन्धित पालिकामा पठाउन पनि आग्रह गरे ।