काठमाडौं - अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रमुख दातृ निकाय एसियाली बिकास बैंक (एडिबी) लाई सुझाव दिएका छन् । नेपालमा ऋण लगाानीसँगै विश्व बजारमा उपलब्ध नविन प्रविधिसमेत भित्र्यार सहयोग गर्न अर्थमन्त्रीले एडिबीलाई सुझाव दिएका हुन् ।
एडिबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको वार्षिक समिक्षा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै अर्थमन्त्री शर्माले ठूला परियोजनाहरुमा अझै दातृ निकायको ऋण आवश्यक परेको र यसरी ऋण दिदा विकसित देशमा प्रयोग हुने नबिन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरेका छन् ।
‘हामीलाई अबका दिनमा ऋण मात्र होइन, प्रविधि पनि भित्र्याइ दिनुपर्याे ’ उनले भने, ‘जसकारण हाम्रा परियोजना कार्यान्वयन गर्न धेरै सजिलो होस् ।’
ऋण लगानीमा निर्माण हुने परियोजना कार्यान्वयनमा आएपछि सोही ऋण तिर्न सक्ने प्रतिफलयोग्य हुनुपर्ने उनले बताएका छन् । सो समिक्षा कार्यक्रममा एडिबीको आर्थिक सहयोगमा विभिन्न परियोजना संचालन गरिरहेका मन्त्रालयका सचिवसहित अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।
सबै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै भने, ‘हामीले ऋण लिएर बनाएका परियोजना सम्पन्न भएर प्रतिफल दिन थालेपछि सोही ऋण तिर्न सक्षम हुनुपर्छ’ उहाँले भन्नुभयो, ‘अहिले बन्दै गरेका र अब छनौट हुने नयाँ परियोजनाका बारेमा पनि यो कुरा ध्यान दिनुहोला ।’
त्यस्तै अर्थमन्त्री शर्माले नेपालको विशेषता र आवश्यकता सुहाउँदो सर्तहरु राखेर एडिबीले परियोजनामा लगाानी गर्नुपर्ने धारणा राखेका छन् । ‘ऋण लिने भनेर हामीलाई अप्ठ्यारो पार्नु भएन । नेपालको विशेषता र आवश्यकताका आधारमा सर्तहरु राखेर परियोजना अघि बढाउन म एडिबीलाई आग्रह गर्छु,’ उनले भने । एबिडी र सरकारको सम्बन्ध सुदृढ र आत्मनिर्भर समाज रुपान्तरणका लागि प्रभाावकारी भइहेको भन्दै खुसी पनि व्यक्त गरेका छन् ।
छलफलमा सहभागी विभिन्न मन्त्रालय/निकायका प्रतिनिधिले समन्वयको अभाव भएको बताएका थिए । मन्त्री शर्माले समन्वय हुन नसक्नु कर्मचारीकै कमजोरी भएको बताएका छन् । उनले समन्वय गर्न कर्मचारीबीच तालमेल नहुँदा विकासमा अवरोध भएको समेत बताए । ‘कुन सडक कसले बनाउने भनेर पनि कर्मचारी साथीहरु अलमलिनु भएको छ, अनि कसरी हुन्छ विकास ?’ उनले भने, ‘सडक खन्ने, ढल बनाउने र बिजुलीको पोल गाड्ने काम समन्वय गरेर एउटै टेण्डरमा निकाल्दा भइहाल्छ तर यहाँ बाटो बनाएपछि ढल विकासले खन्ने र विद्युत प्राधिकरणले बिजुलीको पोल गाड्ने अनौठा उदाहरण देखिने गरेका छन् ।’
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा एबिडीको चार खर्ब नौ अर्ब रुपैयाँ लगानीका परियोजना संचालनमा रहेको जानकारी दिइएको थियो ।