

काठमाडौं– जयतारा भेट फर्माले भारतबाट पशुपन्छीको गुणस्तरहीन भिटामिन आयात गरी उपभोक्तामाथि ठगी गर्दै आएको पाइएको छ । भारतीय कम्पनीले उत्पादन गरेर नेपाली बजारमा पठाएको पशुपन्छीको भिटामिनमा ९९ प्रतिशतसम्म पानी मिसाएको भेटिएको छ।भारतीय कम्पनी इलिसिड फर्माद्वारा उत्पादित ‘भिटाब्लेण्ड ए’ मा ९९ प्रतिशत पानी मिसाइएकोफेला परेको हो।
डिसेम्बर २०१८ मा उत्पादन भइ नोभेम्बर २०२१ सम्म म्याद रहेको इलिसिड कम्पनीको ब्याच नं. इभिए १०१ भिटाब्लेण्ड–एको ल्याब परीक्षण गर्दा गुणस्तरहीन प्रमाणित भएको प्राप्त प्रयोगशालाको रिपोर्टमा उल्लेख छ ।योगशालाका अनुसार, भिटामिनमा सुन्तला रङको पानी मात्र भेटिएको छ । कुनै पनि भिटामिनमा एक लाख आइयू हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । यही मापदण्डको अधीनमा रहेर औषधि उत्पादक कम्पनीले भिटामिन उत्पादन गर्छन् । तर इलिसिडले उत्पादन गरेको भिटाब्लेण्ड–ए नामक भिटामिनमा १०८६.८६ अर्थात् १.०८ प्रतिशत आइयू र बाँकी ९८.२ प्रतिशत पानी भेटिएको छ ।
नेपालमा यो भिटामिनको बिक्री वितरण गरिरहेको कम्पनी जयतारा भेट फर्माको स्वामित्व सरोज घिमिरेको नाममा रहेको छ । इलिसिडले बहुराष्ट्रिय कम्पनी भिरब्याकको ब्राण्ड चोरी गरेर उत्पादन गरेको भिटामिन नेपालमा ल्याइ जयतारा भेट फर्मामार्फत् बिक्री गर्दै आएको छ । भिरब्याकको भिटाब्लेण्ड डब्ल्यूएम फोर्ट अत्यधिक माग रहेको भिटामिनमा पर्छ । भिरब्याकको लोकप्रियताबाट फाइदा लिन इलिसिडले भिटाब्लेण्ड ए उत्पादन गरेर नेपाली बजारमा पठाएको पशुपन्छी औषधिसम्बन्धी जानकारहरू बताउँछन् । नेपालमा तीन हजार हाराहारीमा पशुपन्छी औषधि व्यवसायी रहेका छन् । दोस्रो मुलुकबाट औषधि तथा फिड सप्लिमेन्ट आयात गर्नेको संख्या ५० रहेको छ । ५० आयातकर्तामध्ये केही राम्रा कम्पनीको औषधि तथा फिड सप्लिमेन्ट गर्नेमा पर्छन् ।
पशुपन्छीका लागि प्रयोग हुने फिड सप्लिमेन्ट दोस्रो मुलुकबाट आयात गर्न सरकारी निकायबाट अनुमति लिनुपर्ने प्रावधान छ । यस्तो अनुमतिको क्षेत्राधिकार राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाको रहेको छ । प्रयोगशालाले आयात गरिएको देश र आफ्नो देशको मान्यताप्राप्त प्रयोगशालाबाट गुणस्तर प्रमाणित प्रमाणपत्र हेरेर आयात अनुमति दिनसक्छ । इलिसिडले उत्पादन गरेर नेपाली बजारमा पठाएको भिटाब्लेण्ड ए भिटामिनको प्रतिलिटर मूल्य ३ हजार ६ सय ९६रूपैयाँभन्दा बढीमा बिक्री हुँदै आएको छ ।
भारतबाट ब्राण्ड चोरी गरेका औषधि तथा फिड सप्लिमेन्ट नेपाल भित्राउने प्रवृक्ति पुरानो हो । पछिल्लो दुई वर्षदेखि यो सिलसिला धरै बढ्दै गएको छ ।भारतीय कम्पनी इलिसिड फर्माले बहुराष्ट्रिय कम्पनी भिरब्याकको ब्राण्ड चोरी गरेर ‘भिटाब्लेण्ड ए’ नामक नक्कली उत्पादन नेपाली बजारमा पठाउने गरेकोसमेत बताइएको छ । यो मुख्यतः कुखुरालगायत पशुपन्छीको वृद्धि विकासका लागि खुवाइन्छ ।
उत्पादक कम्पनीले आफ्नो एक एमएलउत्पादनमा एक लाख आइयू रहेको दाबी गरेको छ । दाबी गरेता पनि ल्याब परीक्षणका क्रममा इलिसिडले उत्पादन गरेको भिटाब्लेण्ड–ए नामक भिटामिनमा आवश्यकताभन्दानिकै कम अर्थात् १०८६.८६ आइयू मात्र फेला परेको छ । यसको मतलब इलिसिडको उत्पादनमा भिटामिन एको मात्रा १.८ प्रतिशत र पानीको मात्रा ९८.२ प्रतिशत रहेको भेटिएको छ ।जेस्ट ल्याब्रोटरिज एण्ड रिसर्च सेन्टर प्रालिमा गरिएको गुणस्तर परीक्षणबाट यस्तो तथ्य खुलेको हो।
इलिसिड बहुराष्ट्रिय कम्पनीमाथि भिरब्याकको ब्राण्ड चोरी गरी औषधि उत्पादन गरेको आरोप लाग्दै आएको छ। भिरब्याकको ‘भिटाब्लेण्ड डब्लूएम फोर्ट’ कपी गरेर इलिसिडले ‘भिटाब्लेण्ड ए’ उत्पादन गरेर नेपाल र भारतमा बिक्री वितरण गर्दै आएको छ । भिरब्याक नेपालमा अत्यधिक माग हुने भिटामिनमध्ये एक हो ।
राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका अनुसार भिटामिनको उपभोग्य म्याद सकिने दिनसम्म त्यसमा लेखिएको तत्व १० प्रतिशतभन्दा कम हुँदैन । कुनै पनि भिटामिनमा उत्पादन हुँदाको बखत कम्पनीले दाबी गरेको तत्वको मात्रा केही घट्न सक्छ । तर त्यो १० प्रतिशतभन्दा तलमाथि नहुने जनाएको छ । कुनै पनि देशमा उत्पादित फिड सप्लिमेन्टले बिक्री वितरण अनुमति लिन राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालामा निवेदन दिनुपर्छ।सम्बन्धित देशको प्रयोगशालामा गुणस्तर प्रमाणित भएको रिपोर्ट पेस गर्ने व्यवस्था छ ।
बिक्री वितरण अनुमतिचाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त आधिकारिक प्रयोगशालाको गुणस्तर प्रमाणित रिपोर्ट हेरेर दिइन्छ । तर यहाँ कर्मचारीसँगको सेटिङमा विद्यमान ऐनलाई समेत लत्याउँदै उक्त अवैधधन्दा चलाउँदै आएको पाइएको छ ।
आयातकर्ताले गुणस्तरहीन सामान भित्र्याउँदा त्यसको प्रत्यक्षमारमा किसान परेका छन् । किसानलाई महँगो मूल्य तिराउन बाध्य पार्दै आएका बिक्रेता भने गुणस्तरकोविषयमा ‘पानीमाथिको ओभानो’ बन्दै आएका छन् । पीडित किसानले दोषीमाथि कारबाही माग गर्दै सम्बन्धित निकायमा निवेदन दिए पनि हालसम्म कारबाही नभएको दुःखेसो गरेका छन् । विभिन्न स्वदेशी तथा विदेशी कम्पनीले उत्पादन गरेका भिटामिन, मिनरल, क्याल्सियम, भिटामिन बी कम्प्लेक्सलगायत गुणस्तरहीन रहेको परिक्षणबाट खुलेको छ ।
नेपालमा भिटामिनको नाममा पानी बेच्नेहरूबाट ठूलो धनराशी विदेश पलायन गराउने गिरोह नै सक्रिय रहेका छन् । प्राप्त ल्याब रिपोर्टअनुसार, भारतको अल्जेन लाइभ साइन्स प्रालिकोे ब्याच नं. जिभिजिए–०२ मा आइयूको मात्रा शून्य रहेको पाइएको छ ।अन्तर्राष्ट्रिय मापदण्डअनुसार पशुपन्छीको भिटामिनमा कम्तीमा एक लाख आइयू हुनुपर्ने व्यवस्था गरिएको छ ।अल्जेजनले पाँच मिलिलिटर परिमाणको भिटामिनलाई एक लाख आइयू दाबी गरेर नेपाली किसानलाई बिक्री गर्दै आइरहेको छ । तर प्रयोगशाला परीक्षणका क्रममा ९११ आइयू अर्थात्०.९ प्रतिशत मात्र पाइएको छ ।अल्जेनले उत्पादन गरेको भिटामिनको आधिकारिक बिक्रेताका रूपमा कमलामाई भेट सेन्टरले उक्ते गुणस्तहिन वस्तुको बिक्री गर्दै आएको छ । सेन्टरका टीका श्रेष्ठनै किसान ठग्ने उद्यममा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको छ ।
राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालको रेकर्डअनुसार सिन्धु भेट डिस्ट्रिब्युटरको नाममा आयात सिफारिस मागेको भेटिएको छ । भारतको ओजन बायोसेक्युरिटी एण्ड न्युट्रिसनल सर्भिस प्रालिले उत्पादन गर्ने गोल चिक्स नाम राखिएको भिटामिनमासमेत पानीको मात्रा पाइएको छ ।प्रति १०० एमएलमा दुई लाख ५० हजार आइयू दाबी गर्दै किसानलाई महँगोमा बिक्री गरिएको भिटामिनसरकारी मान्यताप्राप्त प्रयोगशालामा परीक्षण गर्दा ७० हजार आइयू अर्थात् २८ प्रतिशत मात्र पाइएको छ ।पशु सेवा विभागको राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण नियन्त्रण प्रयोशालाको रेकर्डमा यसको नेपालस्थित आधिकारिक आयातकर्ता पेन्टा भेट सप्लायर्स रहेको छ ।
साझेदारीमा सञ्चालित पेन्टाका लगानीकर्तामध्ये एक राजेश कारञ्जितका भतिज नाता पर्ने सचिन कारञ्जितलाई उक्त कम्पनीको जिम्मेवारी दिएको पाइएको छ । नेपाल पशुपन्छी औषधि व्यावसायी संघका केन्द्रीय सदस्य दिनेश कट्टेलले आधिकारिक आयातकर्ता बनेर नेपालमा बिक्रीवितरण गरिरहेको उत्पादन ग्रभिटा गोल्डमासमेत समस्या देखिएको छ । एक करोड आइयू दाबी गरिए पनि ग्रभिटा गोल्डमा जम्मा २३ लाख ८७ हजार ९०४ अर्थात् २३ प्रतिशत मात्र पाइएको छ ।पशुपन्छी हकहितका लागि संस्थागत सुधारमा रहेका कट्टेलनै यस्तो अवैधधन्दामा सक्रिय रहेको भेटिएको हो ।
चर्चित बहुराष्ट्रिय कम्पनी भिरब्याकको भिटाब्लेण्ड डब्ल्यू एम फोर्टसँग मिल्दोजुल्दो नाम राखेर भारतीय कम्पनी इलिसिड फर्माले ब्राण्ड चोरी गरेर भिटाब्लेण्ड ए नामक नक्कली उत्पादन नेपाली बजारमा पठाएपनि त्यसमाथि सरकारी निकायबाट अनुसन्धान र अनुगमनगरिएको छैन । नेपाल पशुपन्छी औषधि व्यावसायी संघका केन्द्रीय उपाध्यक्ष यज्ञराज ढकाल नै गुणस्तरहीन भिटामिन बिक्री वितरणमा संलग्न रहेको भेटिएकोे छ । ढकालकोे यमुना भेट डिस्ट्रिब्युटरले भारतको ग्रोवल एग्रोभेट प्रालिले उत्पादन गरेको गुणस्तरहीन ‘ग्रोभिट ए’ नामको भिटामिन आयात गरी बिक्रीवितरण गरेको पाइएको छ ।
आयातकर्ताले नेपाल सरकारबाट मान्यताप्राप्त प्रयोगशालाबाट गुणस्तर प्रमाणित गरिएको ल्याब रिपोर्टसमेत समावेश गरेर निवेदन दिनुपर्ने कानुनी प्रावधान छ । दुवैतर्फको ल्याब रिपोर्टको नतिजाले उत्पादनको गुणस्तर सही छ र आवश्यक छ भने त्यस्तो सप्लिमेन्ट वा भिटामिन आयात गर्ने अनुमति दिइन्छ ।तर, कानुनविपरीत आयातकर्ता ढकालको कम्पनीलाई ल्याब रिपोर्ट नै पेस नगरी भिटामिन आयातको अनुमति दिएको भेटिएको छ ।स्पष्ट व्यवस्था हुँदाहुँदै आयातकर्ता ढकालले भने सबै उत्पादनको ल्याब रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था नभएको भन्दै भ्रम छर्दै आएका छन् ।