काठमाडौं- अर्थमन्त्री जनार्दशन शर्मा प्रभावकरले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् ।
आइतबार बिहान भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार अशुली प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिएका हुन् ।
‘देशको अर्थतन्त्र यतिबेला चुनौतूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौँ’ उनले भने, ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैंका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सृजना भएको । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ ।’
उनले भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सृजित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठि प्रभावकारी हुने विश्वास लिएको बताएका छन्। त्यस्तै वस्तु आयातमा गरिएको बर्गीकरण सम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठिका माध्यमबाटै समाधानको सुत्र पहिल्याउन पनि उहाँले निर्देशन दिए ।
उनले भन्सार कार्यालयहरुमा प्रयोग हुने भेहिकल स्क्यानिङ सम्बन्धि निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने जानकारी दिए । व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडी बढ्न सबै कर्मचारीलाई उहाँले निर्देशन दिए । माघ मसान्तसम्मको लक्ष्य भन्दा बढी भन्सार राजस्व परिचालन गरेकोमा उहाँले खुसी व्यक्त गरेका छन्।
भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म तीन खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भएपनि आयातमा गरिएको कडाईका बाबजुत तीन खर्ब ८ अर्ब राजस्व संकलन भएको जानकारी दिएका छन्। यो गत बर्ष सोही समयको तुलनामा २९ प्रतिशत राजस्व संकलन बढी हो । सो अवसरमा अर्थमन्त्री शर्माले निर्यातमा सुधार भइरहेकामा खुसी व्यक्त गरेका थिए ।
‘कूल बैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिश नाघेको छ । हामीले माघ मसान्तसम्म १ खर्ब ३१ अर्बको निर्यात गरेका छौं’ उहाँले भन्नुभयो, ‘तर, हामी यतिमा रोकिनु हुँदैन । प्रत्येक बर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै एक दिन आत्मनिर्भर हुने बाटोमा जानुपर्छ ।’ उनले सबै कर्मचारीलाई मेहनत गरेर राजस्व प्रशाशन र राजस्व परिचालनमा उत्कृष्ट काम गर्न निर्देशन दिए ।