काठमाडाै - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अंकले बढेको छ । २५ सय अंकभन्दा तल आइपुगेको नेप्से आजै १०१ अंकले बढ्दै पुनः २६ सय ६७ अंकमा पुगेको हो ।
४ अर्ब ८७ करोड रुपैयाँ बराबरको ९० लाख २२ हजार कित्ता सेयरआज किनबेच भएको छ । नेप्से परिसूचक १०० भन्दा बढी अंकले बढेपनि कारोबार रकम भने नबढेको हो । यसअघि, गत साताको बिहीबार ५२ अंकले बढेको थियो ।
परिसूचकमा उत्साहजनक सुधार आएको दिन आज कारोबार भएका सबै १३ वटै समूहमा उत्साहजनक वृद्धि आएको छ । जिवन बीमा समूहमा भने ९२२ अंकको सुधार आएको छ । निर्जीवन बीमा समूहमा पनि ५६७ अंकको सुधार आएको छ ।
यसैगरी, उत्पादनमूलक समूहमा ३०८ अंकको सुधार आउँदा विकास बैंक समूह २१० अंकले बढेको छ । यस्तै, लघुवित्त समूह १६३ अंकले बढेको छ भने होटल एण्ड टुरिजम १५८ अंकले बढेको छ ।
यस्तै, नेप्सेमा आज तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकरात्मक सर्किट लागेको छ । थप ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।