

काठमाडौं– सरकारले दिएको सुविधाको गलत प्रयोग गर्दै अधिकांश व्यवसायीहरूले करोडौं रूपैयाँ कर छली गर्दै आएको पछिल्ला घटनाबाट खुलेको छ । निर्माण कार्यमा प्रयोग भइरहेको हेभी इकुमेन्टहरूको आयातमा लाग्दै आएको मूल्यअभिवृद्धि कर (भ्याट) लाई शून्य बनाउँदा व्यवसायीहरूले त्यसको नाजायज फाइदा उठाएको भेटिएको हो ।
निर्माण क्षेत्रलाई सरकारले दिएको सुविधाको फाइदा उठाउँदै अवैध सामान नेपाल भित्र्याउन थालिएसँगै सरकारी ढुकुटीमा जानुपर्ने कर व्यक्तिको खातामा जम्मा हुन थालेको समेत भेटिएको छ । सरकारले विभिन्न निर्माण सामग्रीमध्ये नेपाल आयात गर्दा डोजर र एक्साभेटरमा भ्याट शून्य बनाएपछि सो सामानसँगै लुकाइछिपाई भ्याट लाग्ने सामानसमेत ल्याउने गरेको भेटिएको छ ।
विगत केही वर्षदेखि ‘इन्टरनेसनल कन्स्ट्रक्सन प्रालि’ स्वयम्भू काठमाडौंमा रहेको सो कम्पनीले लुकाइछिपाई ‘ब्रेकर’ आयात गरेको भेटिएको छ । सो कम्पनीले ‘डोसान एक्साभेटर’ सँगै दुई हजार किलोभन्दा बढीको ब्रेकर ल्याएको भ्याट छली गरी ल्याएको बारे राजस्व अनुसन्धान कार्यालय पथलैयाले अनुन्धान सुरु गरेपनि बिनाकारबाही उन्मुक्ति दिएको आरोप लागेको छ । जो कोही कम्पनीले ब्रेकर आयात गर्दा १३ प्रतिशत भ्याट बुझाउनुपर्छ । तर, सो कम्पनीले एसेसिरिजको नाममा दुई हजार किलोको ब्रेकर विनाभन्सार ल्याई बिक्री–वितरण गर्दै आएको समेत आरोप लागेको छ ।
यस सम्बन्धमा पटक–पटक सो कम्पनीका प्रमुख पियुष जाजोदियासँग सम्पकर् गर्दा उनी सम्पर्कमा आएनन् । राजस्व अनुसन्धान कार्यालय पथलैयामा सो सम्बन्धमा जिज्ञासा राख्दा लुकाइछिपाई ब्रेकर ल्याएको भेटिएको र त्यसबारे थप छानबिन भइरहेका जानकारी दिएको छ । विगत १० वर्षदेखि डोसान ब्रान्डका एक्साभेटर र लोडर नेपाल आयात हुनै आएको छ । हाल विशेष गरी कन्स्ट्रन्क्सन क्षेत्रमा डोसान र बुलका हेभी इक्विपमेन्टहरू प्रयोग हुँदै आएको छ ।
अधिकांश हेभी इक्विपमेन्टहरू भारतमा निर्माण हुने गरेको छ । तर, डोसान एक्स्काभेटर भने कोरियन ब्रान्ड हो । पछिल्ला दिनमा निर्माणकार्यमा भएको वृद्धिसँगै विभिन्न हेभी इक्विपमेन्टहरूको आयातमा समेत वृद्धि भएको छ ।
हेभी इक्विपमेन्टको माग बढेसँगै सोही क्षेत्रमा प्रयोग हुने ब्रेकरको समेत माग बढी हुनथालेपछि कम्पनीले डोसान एक्साभेटरकै बाकसमा ब्रेकर लुकाएर ल्याउने गरेको उच्च स्रोतको दाबी छ ।
‘एक्साभेटरमा सरकारले भ्याट छुट गरेको छ, र अन्य एसोसिरिजको हकमा स–साना पार्टपूर्जा ल्याउन पाइन्छ, तर दुई हजार किलोग्रामको ब्रेकर एसोसिरिजको नाममा ल्याउन पाइँदैन, ब्रेकरलाई १३ प्रतिशत भ्याट लाग्छ’,नाम नलेख्ने सर्तमा एक व्यवसायीले भने,‘सोही फाइदा उठाउँदै इन्टरनेसनल कन्स्ट्रक्सनले ब्रेकर ल्याइरहेको छ ।’ इन्टरनेसनल कन्स्ट्रक्सनले नेपालमा डोसान र बुल ब्रान्डका हेभी इक्विपमेन्टको बिक्री–वितरण गर्दै आएको छ ।सो कम्पनीले बुटवल, धनगढी, नेपालगञ्ज, नारायणगढ र इटहरीबाट सो एक्साभेटर बिक्री गर्दै आएको छ ।