काठमाडाै - प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना टेन्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
अमेरिकी आर्थिक सहयोग तथा परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट संसदबाट पास भई कार्यान्वयनमा गइसकेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक टेन्डर हुने भन्दै यसका लागि नेपालका निर्माण व्यवसायीहरु पनि तयार रहन प्रधानमन्त्री देउवाले आग्रह गरेका हुन् ।
‘एमसिसीको विषयमा के हुन्छ भनेर प्रश्नहरु गरिएका छन्, नेपाली निर्माण व्यवसायीहरुले पाउछन् कि पाउँदैनन् भनेर जिज्ञासाहरू राखिएका छन् । मैले यसमा उत्तर दिनुपर्छ ।
तर म अहिले यति भन्छु, एमसिसी नेपालले मात्र सञ्चालन गर्ने प्रोजेक्ट नभएर अमेरिकाले समेत सञ्चालन गर्ने हो । यसका लागि अन्तर्राष्ट्रिय टेन्डर हुन्छ, यसमा नेपाली निर्माण व्यवसायीहरु समेत सहभागि हुन पाउछन् तयार रहनुस्’ देउवाले भने ।
यससँगै प्रधानमन्त्री देउवाले हाल कार्यान्वयनमा रहेको सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष र व्यवसायीहरुको माग तथा सुझाव बमोजिम परिमार्जन गरिने समेत आश्वस्त पारेका छन् ।
शुक्रबार राजधानीमा निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को निर्वाचनसहितको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।