काठमाडाै - अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पूँजीगत खर्च बढ्न नसक्दा चिन्तित भएको बताएका छन् ।
कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको बिहिबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशत मात्रै पुँजीगत खर्च भएकोमा चिन्तित भएको बताएका हुन् ।
यसका साथै प्रधानमन्त्री शेरबहादुर देउवा र आफू पनि चिन्तित रहेको उनले बताएका छन् ।अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशत मात्रै पुँजीगत खर्च भएकाेमा सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिइएको बताए ।
‘पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेकोमा प्रधानमन्त्रीज्यू र म पनि चिन्तामा छौं’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले पनि विकासे मन्त्रालयसँग छलफल थालेको छ । मैले त बुधबार नै छलफल गरेर बजेटको लक्ष्य र कार्यक्रमअनुसार खर्च बढाउन दबाब दिएको छु । फेरी पनि विभिन्न माध्यमबाट ताकेता गरिरहनेछु ।’
उनले विकास खर्च लक्ष्यअनुसार हुन नसक्दा तरलतामा असर देखिएको बताएका छन्। प्रधानमन्त्री देउवासँग समन्वय गरी अर्थतन्त्रमा देखिएका समस्या हल गर्न निरन्तर संवाद अघि बढाएको पनि उनले जानकारी गराएका छन् ।
पुँजीगत खर्च गर्ने परम्परागत शैलीका कारण लक्ष्यअनुसार उपलब्धि हाँसिल नभएको उनको भनाई छ । गतवर्ष पनि पँुँजीगत खर्चमा उल्लेख्य प्रगति नभएको स्मरण गराउँदै उनले भने, ‘गत वर्ष माघ मसान्तसम्म १७.८६ प्रतिशत पुँजीगत खर्च भएको थियो ।
यो बर्ष २५ भदौमा प्रतिस्थापन विद्येयक ल्याई बजेट कार्यान्वयन नै ढिला हँुदा पनि गत बर्षको तुलनामा एक प्रतिशत मात्रै कम अर्थात् १६.०८ प्रतिशत पुँजीगत खर्च भएको छ ।’ अर्थमन्त्री शर्माले बाहिर हल्ला गरे जस्तो अर्थतन्त्र निराशजनक अवस्थामा नरहेको समेत बताए । अर्थतन्त्र सरकारको नियन्त्रणमै रहेको र चाँडै समस्या समाधान हुने समेत उल्लेख गरेका छन् ।