काठमाडौं - उत्पादित वस्तु तथा सेवाहरुलाई बजार अभाव हुन नदिनका लागि रिसर्च कम्पनी स्थापना हुने भएको छ ।
निजी क्षेत्र, बैंक तथा बीमा क्षेत्रका अनुभवी व्यक्तिहरुको सक्रियतामा उत्पादित वस्तु तथा सेवाहरुलाई बजारीकरण गर्न नेक्सजेन रिसर्च एण्ड मार्केटिङ कम्पनी स्थापना भएकाे हो ।
वस्तु र सेवा उत्पादन हुनु अघि सोको आवश्यकताको अध्ययन अनुसन्धान नहुनु र बजार व्यवस्थापनको निर्कौल नगरेको कारण धेरै उद्योग व्यवसाय घाटामा चलेको वा बन्द भएको अवस्था छ ।
एउटाले कुनै उद्योग व्यवसाय चलाएको देखे र सोही प्रकृतिको उद्योग व्यवसाय खोल्ने लहरले भएको उद्योग व्यवसाय पनि अस्वस्थ र कडा प्रतिस्पर्धाको कारण चल्न सकेको छैन ।
नेपालको दुई तिर ठुला छिमेकी हुनु, अरबौ जनसंख्याको बजार हुनु, उत्पादित वस्तुको लागत कम हुनु र बजार व्यवस्थापन बलियो हुनुको कारण पनि खुला सिमाना भएको तीन करोडको सानो बजारमा राम्रै अध्ययन अनुसन्धान गरेर मात्र उद्योग व्यवसाय खोल्नु पर्ने हुन्छ ।
अझ वर्तमानको विषम र संकटग्रष्त उन्मुख आर्थिक अवस्थामा धेरै सोचेर विचार गरेर मात्र नयाँ उद्योग व्यवसायमा हात हाल्नु पर्ने महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताएका छन् ।
उनका अनुसार सोही जटिल परिस्थितिलाई हेरेर नयाँ खोल्ने उद्योग व्यवसाय स्थापना पूर्व अध्ययन अनुसन्धान तथा कमजोर अवस्थामा, संचालनमा रहेका उद्योग व्यवसायको प्रभावकारी बजार व्यवस्थापनमा सहयोग गर्ने गरी रिसर्च एण्ड मार्केटिङ कम्पनी खोल्ने योजना बनाइएको हो ।
भट्टराईका अनुसार देशैभरिबाट ५० जना जतिको प्रतिनिधित्व हुने गरी प्रस्तावित कम्पनीको १ करोड अधिकृत तथा रु. ५० लाख जारी र चुक्ता पूँजी हुनेछ ।
सातवटै प्रदेशबाट अध्यन अनुसन्धान र बजार व्यवस्थापनमा रुची हुने सक्रिय व्यक्तिलाई रु ५० हजार रुपैयाँदेखि १ लाखसम्मको सेयर दिइनेछ ।
एक वर्षभित्र सात वटै प्रदेशमा कार्यालय स्थापना गर्ने, बैंक, बीमा, पूँजी बजार, उद्योग व्यवसाय, कृषि, पर्यटन लगायत अन्य क्षेत्रलाई आफ्नो वस्तु र सेवाको विषयमा उत्पादन पूर्वको अनुसन्धान गर्न तथा उत्पादन पछि बजारीकरणमा सहयोग गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको उनले बताए ।
कम्पनी स्थापनापछि विभिन्न ठाँउमा रहेको संस्थापक लगानीकर्तालाई फोकल प्वाइन्ट बनाई गरिने अध्ययन अनुसन्धान र बजारीकरणबाट हुने आम्दानीको अधिकांश भाग काम गर्नेले राम्रो आयआर्जन गर्न सक्छन् । केही भाग कम्पनीले लिई लगानीकर्तालाई पनि राम्रो प्रतिफल दिने गरी कार्ययोजना बनाउँदै गरेको जानकारी दिइएको छ ।