काठमाडाै - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन तीन हजार ५०० ले घटेर सुनको मूल्य ओरालो लागेको हो ।
सुनचाँदी बजार इतिहासकै नयाँ कीर्तिमानी ताड्दै बुधबार एकै दिन प्रतितोला २५ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य घटेर १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।
छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
सुनसँगै ओरालो लागेको चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ तोकिएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ रहेकाे थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७८ डलर आसपास कारोबार भइरहेको छ ।
रुस र युक्रेनबीच सैन्य भिडन्त भइरहँदा निरन्तर उकालो लाग्दै दिनदिनै कीर्तिमान बनाइरहेको सुनको मूल्य आज घटेको महासंघकाे ठम्याइ छ ।